कम्प्यूटर इञ्जिनियरिङ्ग पढाउँदै सरस्वती निकेतन

सरस्वती निकेतन मा.वि.मा यस वर्षदेखि कम्प्यूटर इञ्जिनियरिङ्गको पठनपाठन हुने भएको छ ।
मेरो साप्ताहिकसँग कुरा गर्दै सरस्वती निकेतन मा.वि.का प्रधानाध्यापक रविना महर्जनले काठमाडौं महानगरपालिकाकाको आन्तरिक बजेटबाट कक्षा ९ देखि १२ सम्म कम्प्यूटर इञ्जिनियरिङ्ग पढाउनका लागि स्वीकृति प्राप्त भएको बताए ।
प्राप्त स्वीकृति अनुरुप यसै शैक्षिक सत्रदेखि कक्षा ९ मा इञ्जिनियरिङ्गको पढाई सुरु हुने बताउँदै विद्यालयको स्तरोन्नतिका लागि भौतिक पूर्वाधार निर्माण गर्न कामपाबाट ५० लाख रकम विनियोजन गरिएको र त्यसबाट ५ वटा ल्याबहरु निर्माण गर्न लागिएको जानकारी दिए । सो सहयोगबाट विद्यालयमा केमेष्ट्रि ल्याब, फिजिक्स ल्याब, ड्रइङ्ग ल्याब, मेन्टेनेन्स वर्कशप र कम्प्यूटर ल्याब गरी पाँच वटा ल्याब निर्माण हुने बताए ।
कक्षा ९ मा कम्प्यूटर इञ्जिनियरिङ्ग पढ्न चाहनेका लागि ५० वटा सीटको व्यवस्था गरिएको छ । जसमा भर्ना खुल्ला गरिसकेको छ भने ३५ वटा सीट रिजर्भ भइसकेको छ । जेहेन्दार विद्यार्थीहरुले कम्प्यूटर इञ्जिनियरिङ्ग पढ्नु राम्रो हुने बताउँदै यो प्राविधिक विषय भएका कारण जनरल धारमा अध्ययन गरेका विद्यार्थीहरुले भन्दा चाँडो रोजगारको अवसर पाउने निश्चित रहेको बताए ।
कम्प्यूटर इञ्जिनियरिङ्ग विषय लिएर पढ्ने विद्यार्थीहरुले १० कक्षा उत्तिर्ण भएपछि पार्टटाइम र १२ कक्षा पास भएपछि ओभरसियर सरहको मान्यता प्राप्त गर्न सक्ने र सुब्बा तहमा लोकसेवामा प्रतिस्पर्धा गर्न सक्ने बताइन् । अहिले कक्षा ९ देखि १२ सम्म पढाई हुने कम्प्यूटर इञ्जिनियरिङ्गको पाठ्यासामग्री लगभग बी.ई. सरहको कोर्ष रहेका कारण यो शिक्षा ग्रहण गर्ने विद्यार्थीहरुले बी.ई.मा सजिलै नाम निकाल्न सक्ने सम्भावना रहेको उनको तर्क रहेको छ ।
उनले भनिन्, ‘फिजिक्स लिएर साइन्सबाट प्लस टू पास गरेकाहरुलाई भन्दा पनि कम्प्यूटर इञ्जिनियरिङ्गका विद्यार्थीहरुलाई सजिलो हुने भएकाले यो एकदमै राम्रो कोर्ष हो । यसैले यसको महत्वलाई बुझेर यही विषय पढ्नु राम्रो हुनेछ ।’
सरस्वती निकेतनमा किन कम्प्यूटर इञ्जिनियरिङ्गलाई नै प्राथमिकता दिइएको हो भन्ने प्रश्नको उत्तर दिँदै उनले भनिन्, ‘हुनत प्राविधिक विषयहरुमा सिभिल इञ्जिनियरिङ्ग, कृषि, इलेक्ट्रिकल इञ्जिनियरिङ्ग पनि छन् तर त्यसको लागि अलि धेरै नै ठाउँको आवश्यकता हुने गर्दछ । यसका साथै ठूला ठूला ल्याबहरु पनि आवश्यक हुने गर्दछ । यसको तुलनामा कम्प्यूटर इञ्जिनियरिङ्गका लागि कम्प्यूटर ल्याब भए पुग्ने र फिल्डमा पनि धेरै खटिनु नपर्ने भएका कारण हाम्रो विद्यालयलाई यही विषय उपयुक्त हुने देखेर हामीले यो विषय रोजेका हौं ।’
यसका साथै अहिलेको समयको माग पनि सूचना प्रविधिमा दक्ष जनशक्ति आवश्यक रहेका कारण यो अहिलेको आवश्यकता नै भएको बताउँदै आफूहरुले कम्प्यूटर इञ्जिनियरिङ्ग नै चयन गरेको बताइन् ।
यो विषय पढ्न लाग्ने शुल्कको विषयमा बताउँदै प्रअ महर्जनले भनिन्, ‘कम्प्यूटर इञ्जिनियरिङ्ग विषय महङ्गो विषय नै हो । यो विषय पढाउनका लागि आवश्यक भौतिक पूर्वाधारको निर्माण, शिक्षणका लागि आवश्यक जनशक्ति काठमाडौं महानगरपालिकाले नै व्यवस्था गर्ने र परीक्षा तथा पठनपाठनका लागि आवश्यक इन्टरनेटको व्यवस्था विद्यालयले गर्नुपर्ने भएका कारण वार्षिक मात्र १२ हजार रुपैयाँमा कम्प्यूटर इञ्जिनियरिङ्ग गर्न पाउने भनेको एकदमै सुनौलो अवसर हो ।’
यसका साथै सरस्वती निकेतन एक सामूदायिक विद्यालय भएका कारण सरकारी सेवामा प्रतिस्पर्धा गर्न र बी.ई. अध्ययनका लागि समेत आरक्षण हुने भएका कारण पनि राम्रो मौका हुने बताउँदै काठमाडौं भित्री शहरमा कम्प्यूटर इञ्जिनियरिङ्ग पढाउने यही एउटा मात्र विद्यालय भएका कारण पनि यसै विद्यालय चयन गर्नु पर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध