सम्झनामा मुर्धन्य व्यक्तित्व ः चेतन कार्की
वहु आयामिक व्यक्तित्व चेतन कार्की अब्बल गीतकार, फिल्म निर्देशक, पटकथाकार, लोक संस्कृतिविद् हुन् । कान्छी, परिवर्तन, विश्वास, भुमरी, मायाप्रिती लगायत थुप्रै चलचित्रमा उत्कृष्ट गीतहरुको उहाँले रचना गर्नुभएको थियो भने विश्वास, भुमरी, पहिलो प्रेम लगायतका चलचित्रमा उहाँले निर्देशन गर्नुभएको थियो । थुप्रै कालजयी गीतका रचयिता उहाँले कान्छी हे कान्छी, परिवर्तन चलचित्रको स्वर सम्राट नारायण गोपालद्वारा गाइएको ‘बुझ्नै सकिनौ तिमीले आँखाको भाखा मेरो…’ विश्वास चलचित्रको ‘अंग अंगमा तरङ्ग उठ्छ…’ चलचित्र तिलहरिको ‘तिजको लहर आयो बरि लै…’ आदि थुप्रै कालजयी गीतहरु अझै पनि जनस्तरमा उतिकै लोकप्रिय छन् ।
व्यक्तिगत रुपमा उहाँसँग मेरो भेट सिम्फोनिक स्टुडियोमा वि.सं २ ०५७/५८ सालमा भएको थियो । नेपाल कला भुषण चन्द्र राज शर्माका सुपुत्र सुदेश शर्मा सरको संगीतमा सेन्ट जेभियर्स स्कुलको पचासौं वार्षिकोत्सवको कार्यक्रमको लागी एउटा गीति नाटकको रेकर्ड हुँदैथ्यो जसको शव्द चेतन कार्कीज्यूले लेख्नु भएको थियो । सोहि गीति नाटकको लागि केहि अंशहरु गाउनको लागि म लगायत सांस्कृतिक संस्थानका संगीतका विद्यार्थीहरु केहीलाई चन्द्र राज सरले बोलाउनु भएको थियो । त्यस गीति नाटकको शीर्षक थियो – असतोमा सद्गमय ।
यसभन्दा अघि चन्द्रराज सरको संगीत निर्देशनमा भानुभक्त चलचित्रमा केही श्लोकहरु गाउने अवसर मैले पाएको थिएँ । सोहि रेकर्डिङ्गमा पहिलो पटक मेरो भेट भएको थियो – चेतन कार्कीज्यूसँग । केहि अंशहरु सामुहिक गायनमा थियो भने कुनै मेरो सोलो थियो । मलाई परेको अंश चाहिँ त्यो ब्यक्तिको थियो जोसँग पर्याप्त सम्पत्ति धनि थियो तापनि भगवान समक्ष अरु धन सम्पत्तिको याचना गर्दै गाइरहेको लोभी व्यक्तिको, मैले झुटो रुदै गाउनु पर्ने अभिनय गर्दै । त्यो मेरो लागि छुट्टै अनुभव अर्थात गार्हो नै थियो । सुरमा गाउनु छुट्टै कुरा तर अभिनय गर्दै गाउनु अलग । चेतन कार्कीज्यूले यति सहज वातावरण बनाएर काम लिनु हुँदो रहेछ कि प्रोत्साहन गर्नुभयो, पुर्काउनलाई मलाई हेर बाबु, तिम्रो जस्तो स्वर भएको भए ……. उहिल्यै फ्लप भइसक्थ्यो । मैले जसो तसो गाएँ त्यो, राम्रै भएछ ।
पछि सेन्ट जेभियर्सको ५० औ वार्षिकोत्सवको स्वर्ण जयन्ती कार्यक्रममा हेर्याे नाटक तत्कालिन राजा विरेन्द्र तथा परिवारको उपस्थितिमा हामी सबैले ठीकै, राम्रै गाएको अनुभुति भयो ।
घुम्नको सानै देखिको शौकिन, म योजना विना पनि कहिले काहि साथी मिलेमा निस्कन्थ्येँ घुम्न । त्यसैले एकदिन २०५९ चैत्र ११ गते सुरज आचार्य भन्ने एक जना साथी र म दुई जना एक दुई जोर लुगा व्यागमा हालेर एउटा गीतार बोकेर घरबाट निस्क्यौं । कहाँ जाने निश्चित थिएन कलंकीवाट पश्चिम तिर लाग्ने कि कोटेश्वर हुँदै पूर्वतिर जाने भन्ने अनिश्चितता बिच कलंकी जाउँ, त्यताबाट कतै जाउँला भनेर कलंकी पुगियो र पोखरा जाने अग्नी यातायात चढियो ।
एकैछिन पछि हाम्रो अगाडिको सिटमा चेटन कार्कीज्यू, आएर बस्नु भयो । म पहिला अलि बोल्न धक भएर आफ्नो परिचय पनि दिईन र रेकर्डिङ्ग, गीती नाटकको कुरा पनि गरिनँ, उहाँले चिन्नु पनि भएन । बस गुड्यो, केही घण्टा पछि बिशालटारमा पुग्यो, पानी परेर कृणभीरमा पै¥हो गएर बाटो बन्द रहेछ, हामी नौ घण्टा त्यो जाममा फँस्यौं । त्यो नौ घण्टामा बसको सबैलाई चेतन कार्कीज्यूले मनोरञ्जन गर्नुभयो । कहिले सेयरसायरि सुनाएर, लोक गीतहरु सुनाएर विच विचमा जब अलि गाडी गुड्थ्यो र ड्राइवरले हुँइकाउँथ्यो उहाँ आक्रमण ऽऽऽ भनेर कराउनु हुन्थ्यो, हामीलाई त महाभारतको एपिसोड सुटिङ्ग भईरहेको जस्तो रमाइलो लाग्थ्यो र मज्जाले हाँस्थ्यौ । उहाँले भने बालापन देखिन्थ्यो रमाइलो र त्यो नौ घण्टा कटाउन अरु गाडिको यात्रीहरुलाई जस्तो हामीलाई गा¥हो भएन । जे होस दिनको २ बजे पोखरा पुग्नु पर्ने हामी राती १ बजे पोखरामा ओर्लियौं र आफ्नो गन्तव्य लाग्यौ । सुरज र म भने अलमल्ल थियौ कहाँ जाने राती भनेर, त्यसै वसका एकजना युवकले हामीलाई जो सँग बोलेका पनि थिएनौ बसमा, आफ्नो घर जाउँ भनेर लिएर गयो र विहान उसकै घरमा नास्ता गरेर उसलाई धन्यवाद दिएर हामी हिड्यौ । ऊ को थियो, के थियो … त्यतिखेर मोबाइलहरु पनि थिएन तर अध्यारोमा ठूलो सहयोग हामीले पायौ ।
यसपछि केहि कार्यक्रमहरुमा चेतन कार्कीज्यूसँग भेट भयो र पछि फेरि एउटा गीति नाटक उहाँद्वारा नै लेखिएको ‘हिरक जयन्ती अभिनन्दन’ जसको संगीत निर्देशन सुदेश शर्मा सरले नै गर्नु भएको थियो, त्यसमा पनि सुदेश सरले मलाई सम्झेर बोलाउनु भयो र केहि अंश गाउने अवसर फेरि मिल्यो तर चेतन कार्कीज्यू भने रेकर्डिङ्गमा उपस्थित हुनु भएको थिएन । यस नाटकको प्रदर्शन सेन्ट जेभियर्सको ६० औं वार्षिकोत्सव अर्थात् हिरक महोत्सवमा तत्कालीन राष्ट्रपति रामवरण यादवज्यूको समुपस्थितिमा गरिएको थियो ।
यस्ता मुर्धन्य व्यक्तित्व, सर्जक आज हामी माझ भौतिक रुपमा रहनु भएन । उहाँद्वारा रचित गीत मलाई व्यक्तिगत रुपमा सा¥है मन पर्ने र मैले धेरै गाएको गीत, ‘वुझ्नै सकिनौ तिमीले, आँखाको भाका मेरो…’ मेरो हृदयको धेरै नजिक छ । उहाँ प्रति हार्दिक हार्दिक श्रद्धाञ्जली । भौतिक रुपमा हामी माझ नभए पनि आफ्नो कृतिद्वारा उहाँ सदा अमर रहनु हुनेछ । श्रद्धाञ्जली ।








