महिनावारीको विषयमा अनलाइन परामर्श कार्यक्रम

विश्व महिनावारी स्वच्छता दिवस २०२१ को पुर्व सन्ध्यामा २०७८ जेठ १२ गते गैर सरकारी संस्था गुथिले नेपाल महिला समाज, संयुक्त सफाई जागरण बचत तथा ऋण सहकारी संस्था लि. ईको सिष्ट, हर्टविट, नेपाल रेडक्रस युथ सर्कल त्रिचन्द्र क्यापस, एरोसान र रोट्रयाक्ट क्लब पाटन वेस्टको सहकार्यमा महिनावारी स्वच्छता र प्रजनन स्वास्थ्य सम्बन्धि अनलाईन परामर्श कार्यक्रम सम्पन्न गरिएको छ ।
सो कार्यक्रममा असमानता र यसको उन्मुलनका लागि समाज, पुरुष वर्गहरुले दिन सक्ने योगदान, महिनावारीमा हुने अनियमितता, महिलाहरुले अनुभव गर्ने दुखाईको कारण, कुन अवस्थामा चिकित्सकसँग परामर्श लिन आवश्यक हुन्छ कस्तो अवस्थामा घरेलु उपायहरु अपनाउन सकिन्छ र यस्तो समयमा महिलाहरुलाई पौष्टीक आहार तथा विशेष आरामको जरुरी हुन्छ कि हुन्न भन्ने मूल विषयमा केन्द्रित रही परामर्श कार्यक्रम सम्पन्न गरियो ।
यस कार्यक्रममा बोल्दै पूर्व वातावरण मन्त्री गणेश शाहले ‘‘प्रविधिको प्रयोग गरेर महिनावारी सम्बन्धि परामर्श, जानकारी र जनचेतना फैलाउने कार्य गरेकोमा गुथि लगायत सबैमा धन्यवाद ज्ञापन गरे । साथै महिलाहरुलाई जन्मदाता जननीको उपमा दिनु हुँदै महिलामाथि हुने हिंसा, दुव्र्यवहार, अपमान र तिरस्कार गर्नु अनुचित हो भन्नु हुँदै महिनावारीलाई प्राकृतिक प्रकृयाको रुपमा लिनु पर्ने र यसलाई हेय दृष्टिकोणबाट हेरिनु हुन्न भन्ने धारणा राखे ।
महिनावारी भनेको के हो त भन्ने बारे अझै पनि बुझ्न र बुझाउन नसकेको भन्दै खानेपानी र सरसफाईमा कार्यरत संस्थाहरुले यो विषयलाई उठान गरी जनचेतना जगाउने कार्यक्रम गरे पनि त्यतिले नपुगेको हो कि भन्ने आसंका व्यक्त गर्दै उनले अझै व्यापकरुपमा महिनावारी बारे बैज्ञानिक तरिकाले बुझाउनका लागि हामी सक्रिय र कृयाशिल भई लाग्नु पर्ने बताए ।
उनले महिनावारीमा देशभरका विद्यालयमा सरकारले निःशुल्क प्याड दिने घोषणा गरेको दुई वर्ष हुन लाग्दा पनि अझै सम्म बजेट उपलब्ध नभएकोले त्यसको कार्यान्वयनमा ढिलाई हुँदा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु महिनावारी भएको बेलामा स्कूल नआउने गरेको तर्फ इंगित गर्दै सरकारले समयमै यस कुरालाई मनन गरि यसको नियन्त्रण गर्नु पर्ने तर्फ ध्यानाकार्षण गराए ।
कार्यक्रममा एमएचएम एलायन्सका संयोजक गुणराज श्रेष्ठले महिनावारीलाई मानव जिवनको प्रतिष्ठा र मर्यादाको विषय मानेर विश्व भरीनै मे २८ लाई महिनावारीको मासिक चक्रसँग जोडेर यो दिवस मनाइँदै आईरहेको जानकारी दिए । नेपाल लगायत संसारका अधिकाँस पिछडिएको देशहरुमा महिनावारीलाई घिन, लाज, सरम र धर्मसँग जोडेर महिलाहरुलाई पछाडि पार्ने र अपहेलित गरी महिनावारीलाई समस्याको रुपमा हेरेको पाइन्छ । महिनावारी भनेको प्राकृतिक प्रकृया हो जुन पुरुषहरुमा पाइन्न तसर्थ महिनावारीलाई विशेष क्षमताको दृष्टिकोणबाट हेरिनुपर्नेमा जोड दिनु हुँदै महिनवारीलाई मर्यादित महिनावारी घोषित गर्नु पर्ने आवश्यक्ता तर्फ इंगित गरे ।
अधिकांस महिलाहरुले महिनावारी सम्बन्धि समस्या खुलेर कसैलाई भन्न नसक्ने र अस्पताल जान पनि हिच्किचाउने भएकोले महिनावारी भनेको शारीरीक प्रकृया हो जुन हरेक महिना महिलाहरुको पाठेघरमा निर्मित अण्डा प्रयोग नभई फुटेको अवस्थामा निस्कने सामान्य रगत भएको र महिनावारी भएको बेलामा आईरन तथा भिटामीन सि युक्त खानेकुरा खानुपर्छ भन्ने जानकारी दिदै हर्ट विटका नर्स प्रिति श्रेष्ठले कार्यक्रममा आफ्नो प्रस्तुतिकरण प्रस्तुत गरेको थियो ।
महिनावारी हुँदा महिलाहरुले आफ्नो रोजाई अनुसारको प्याड लगायत अरु विभिन्न कपडाको प्रयोग गरिरहेका हुन्छन । अहिले बजारमा सजिलै पाइने मेन्सुरल कपको प्रयोग स्यानेटरी प्याड भन्दा सस्तो हुने र यसलाई पुनः प्रयोग गर्न सकिने हुँदा वातावरण मैत्री पनि भएको जानकारी मुलक प्रस्तुति रोट्राक्ट क्लब अफ पाटन वेस्टका अध्यक्ष उर्जा नेवाःले प्रस्तुत गरे भने कार्यक्रममा रुचा श्रेष्ठ लगायतले मेन्सुरल कप प्रयोग सम्बन्धी अनुभव साझा गरेका थिए ।
‘‘विद्यालयमा अध्ययनरत महिला विद्यार्थीहरुलाई महिनावारी हुँदा निकै पिडा भई अस्पताल लग्नु पर्ने अवस्था आउने गर्दछ यो पिडा कम कसरी गर्न सकिन्छ’’ भन्ने महेन्द्र सरस्वती माध्यमिक विद्यालयका शिक्षक पृथ्वी मगरको प्रश्नलाई हल गदै नर्स तारा तामाङ्गले ‘‘त्यस्तो अवस्थामा तातो पानी प्रसस्त प्रदान गर्ने र तातो खानेकुरा तथा चकलेटको प्रयोग गर्दा पिडा केही कम हुन्छ’’ भन्ने जानकारी दिनुभयो ।
एरोसान शौचालयका शौचालय सरसफाईकर्मी अमिसा देउलाले मेन्सुरल कप प्रयोग गरेको अवस्थामा दिसा पिसाव गर्नु प¥यो भने निकाल्नु पर्छ कि पर्दैन भन्ने जिज्ञासा राखेकी थिइन् । यसको उत्तरमा रोट्राक्ट क्लब अफ पाटन वेस्टका अध्यक्ष उर्जा नेवाःले महिलाहरुको पिसाव गर्ने र महिनावारी हुँदा रगत बग्ने ठाउँ छुट्टै हुने हुँदा निकाली रहनु नपर्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध