संयुक्त राष्ट्र संघ विज्ञान, प्रविधि र नविनता पुरस्कारबाट एरोसान सम्मानित

एरोसान हव संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २०२० अन्तर्गत विज्ञान, प्रविधि र नविनता पुरस्कारबाट स्मार्ट नमुना सार्वजनिक शौचालयका लागि पुरस्कृत भएको छ । संयुक्त राष्ट्र संघको मे ५, २०२१ मा हुन गईरहेको भर्चुअल सम्मेलनमा एरोसानलाई आफ्नो नमुना शौचालयको प्रस्तुती दिएको छ । उक्त कार्यक्रममा एरोसानको नेतृत्व गर्दै एरोसान सस्टेनेवल स्यानीटेसन नेपालका कार्यकारी प्रमुख प्रकाश अमात्यको सहभागिता जनाएका थिए ।
एरोसानले काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा नयाँ स्मार्ट शौचालय र भएका पुराना सार्वजनिक शौचालयको पुनः निर्माण गरि अत्याधुनिक शौचालयमा रुपान्तरण गरि रत्नपार्क, नयाँबानेश्वर, बुद्धपार्क र मंगलबजारमा गरि हाल ४ वटा नमुना शार्वजनिक शौचालय संचालनमा ल्याईसकेको छ भने त्रिपुरेश्वर र पाटन ढोकामा यही वर्षबाट संचालनमा ल्याउने उद्देश्यका साथ निर्माण कार्य भईरहेछ ।
एरोसान हवद्वारा संचालित यी सार्वजनिक शौचालय अत्याधुनिक, स्वच्छ, महिला मैत्री, अपाङ्ग मैत्री र समुदायमा आधारित रहेको छ । उक्त शौचालयहरुमा महिलाहरुको लागि स्वचालित मेसिनबाट स्यानिटरी प्याड किन्ने व्यवस्था गरिनुका साथै प्रयोग भएको प्याडको व्यवस्थापनका लागि प्याड जलाउने मेसिन पनि जडान गरिएको छ र बालबालिकाहरुको डाइपर परिवर्तन गर्ने स्थान पनि उक्त शौचालयहरुमा उपलब्ध रहेको छ । यस शौचालयमा सरसफाईका लागि आकाशे पानी संकलन गरि प्रयोग गरिएको छ । उक्त शौचालयबाट निस्कासित ठोस तथा तरल फोहोरलाई ढलमा नफाली उर्जाको रुपमा वाँयोग्यास निर्माण गरिएको छ भने फोहोर पानीलाई प्रशोधन गरि पुनः प्रयोग गरिएको छ । एरोसानले निर्माण गरेको सार्वजनिक शौचालयहरु सरसफाईको क्षेत्रमा दिगो सामाजिक उद्यम नमुनाको रुपमा रहेको छ जसले निम्न तथा मध्यम आय श्रोत भएको समुदाय विशेष गरि अपाङ्ग तथा पिछडिएको समुदायका लागि सम्मानको रोजगारी उपलब्ध गराएको छ ।
‘‘एरोसान हवले निर्माण गरेको शौचालयहरु नेपालमा सार्वजनिक शौचालय निर्माणका लागि नमुना कार्यक्रमको रुपमा रहेको छ । सरसफाई क्षेत्रको चुनौतीलाई आत्मसाथ गर्दै एरोसानले सूचना प्रविधि र व्यवसायिक नीति अपनाई सार्वजनिक शौचालय निर्माणमा विशेषज्ञता हासिल गरेको छ । एरोसानले शौचालय संचालक, गैर सरकारी संस्था, सीमान्तकृत समुह र नेपाल सरकारसँग हातेमालो गर्दै महिला तथा बालबालिका र अपाङ्गहरुलाई मध्यनजर गदै आवश्यक डिजाइन तयार पारी उचित प्रविधि र सुचनामुलक पोस्टरहरु पनि आफ्नो शौचालयहरुमा प्रयोग गरेको छ भने फोहरलाई मोहरमा परिणत गर्न वायोग्याँसलाई आफ्नो डिजाईनमा अटाएको छ । शौचालयलाई अत्याधुनिकरुपमा निर्माण गरि उत्पादित वयोग्याँसको सदुपयोग गर्दै यसको दिगो संचालनका लागि क्याफे संचालनमा ल्याएकोे छ ।’’ एरोसान, नेपालका प्रतिनिधि प्रकाश अमात्यले भने ।
‘‘समाजमा सरसफाईकर्मीहरुलाई सम्मानको दृष्टिले हेरिने गरेको पाइदैन । त्यस माथि पनि सार्वजनिक शौचालयका सरसफाईकर्मीहरुलाई अपहेलित गर्ने गरेको पाइन्छ । सरसफाई समाजका लागि निक्कै महत्वपूर्ण भएता पनि सफाईको कामलाई समाजले सम्मान गरेको पाइदैन ।’’ उनले भने ।
काठमाडौं उपत्यका क्षेत्र भित्रका महानगरपालिका र नगरपालिकामा एरोसान संस्थाले ५० वटा महिला मैत्री, अपाङ्ग मैत्री, पहुँच युक्त सार्वजनिक शौचालयको निर्माण गर्ने उद्देश्य लिएको छ जसले सरसफाईकर्मीहरुलाई सम्मानजनक रोजगारीको अवसर प्रदान गर्ने उनको दावी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध