गोल्डेन भ्वाइसको अवसान
गोल्डेन भ्वाइस अफ नेपाल उपनामबाट चिनिने वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको आज निधन भएको छ । उनको सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । छातीमा समस्या देखिएपछि गत शुक्रवार उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
उनीमा काेराेना नेगेटिभ रहेकाे पारिवारिक श्राेतले जनाएकाे छ ।
वि.सं. १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका प्रधानको आफ्नै घरमा सांगितिक माहौल थियो । उनका जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका उस्ताद थिए ।
प्रेमध्वज प्रधानको घरमा दैनिक सांगितिक कार्यक्रम हुने गर्दथ्यो जसको प्रभावबाट प्रधान पनि संगीततर्फ आकर्षित भए ।
प्रेमध्वज प्रधानको ५ वर्ष अघि मात्र २०१६ मार्च १५ तारिखमा टाउकोको हैमाटोमाको अपरेशन भएको थियो ।
लोकप्रिय र स्टाइलिस गायकका रूपमा समेत चिनिने गोल्डेन भ्वाईस अफ नेपाल प्रधानको ‘राजमती कुमती’, ‘बालाबाला चिंगु मिखा’, ‘उपहार थ्व मतिनाया’, ‘अय् तिमिला धारे धाः’, ‘वांगु लप्ते तुयू बजि’, ‘व छु गल्ली थ्व छु गल्ली’, ‘छन्त येकेधुंकाः थ्व जिगु जीवनय्’, ‘वये जि छन्थाय् छाय् मवये’, ‘छंगु मिखा धात्थें हे बांलाः’, ‘जीवन छु खः निन्हुया नखः,’ ‘पिलिपिलि पिलिक्क’, ‘थ्व नुगः’, ‘सुइके न्यने जिं’ लगायतका धेरै नेपालभाषाका गीतहरू लोकप्रिय रहेका छन् ।
प्रधानका खस नेपाली भाषाको घुम्तीमा नआऊ है, तिमीलाई अचेल कहाँ भेटुँ, गोरेटो त्यो गाउँको, पर लैजाऊ फूलहरु, हाँस्ने रहरहरु इत्यादी सयौं गीतहरू लोकप्रिय छन् ।
प्रधान नेपालभाषा संगीत क्षेत्रका प्रथम रक एण्ड रोल गीत गायक समेत हुन् भने स्वरसम्राट नारायणगोपाललाई बाद्यवादन विधाबाट गायन विधामा ल्याउने संगीतकार पनि हुन् ।
प्रेमध्वज प्रधान नेपाली चलचित्र ‘माइतीघर’को गीत रिकर्डका लागि बम्बई गएर गीत रेकर्ड गराउँदा चलचित्रकी नायिका माला सिन्हा अत्यन्त प्रभावित भएकी थिइन् । उनले प्रधानलाई भारतमै बस्न समेत आग्रह गरेकी थिइन् । तर प्रेमध्वज प्रधान नेपाल र नेपालको संगीतलाई माया गरी नेपाल फर्किएका थिए ।








