मेरो मिर्गौला मेरो जिम्मेवारी

विश्वभरी मार्च महिनाको दोश्रो बिहीवार विश्व मिर्गौला दिवस मनाउँदै आएका छौं । १६ औँ दिवस आगामी बिहीवार महाशिवरात्रीका दिन परेको छ । उपचार मात्र गरेर रोग निर्मूल गर्न सम्पन मुलुकहरु समेत असक्षम भए पछि यो दिवस मनाउन थालिएको हो । जबसम्म प्रत्येक व्यक्तिले आफ्नो मिर्गौला जोगाउन जिम्मेवारी लिँदैन तबसम्म बढी रहन्छ । जिम्मेवारी मान्छेले त्यस बेला लिन्छ जब उसले मिर्गौलाको महत्व बुझ्दछ । यसैले पहिलो काम विश्व मिर्गौला दिवस मनाउँदा मिर्गौला के हो ? मिगौलामा रोग किन लाग्छ ? कसरी मिर्गौला स्वस्थ राख्न सकिन्छ ? मा केन्द्रिकृत हुन जरुरी छ । मेरुदण्डको दुवै तर्फ आफ्नो मुठ्ठि बराबरको सिमी आकारको मिर्गौलाले शरीरमा उत्पन्न हुने फोहोर र बढि झोल पिसाब बनाएर फाल्छ । साथै रक्तचाप संतुलन, भिटामिन डी सक्रिय बनाउने रगतको कमीबाट जोगाउने धेरै काम गर्दछ । स्वस्थ मिर्गौला भए पिर नै भएन तर मिर्गौलामा रोग लागे पनि लक्षण शुरुमा नदेखिने, रोग धेरै बढे पछि जटिल उपचार गर्नु पर्ने समस्या नै मिर्गौलाको चुनौती हो । स्वस्व मिर्गौलामा रोग आएको थाहा नपाइने भएकोले आफु स्वस्थ भए पनि समय समयमा स्वास्थ परीक्षण गर्नु को विकल्प नै छैन ।
साना ठूला, धनी गरीब, काम गर्ने नगर्ने शहरमा बस्ने वा गाउँमा बस्ने सबैले बर्षमा एकपटक पिसाबमा अल्बुमिन (प्रोटीन) र रगतमा क्रियाटिनिन जाँच्नु पर्छ । यसो गर्दा मिर्गौलामा रोग लागेको वा नलागेको, मिर्गौलाले ठिक काम गरे नगरेको थाहा पाइन्छ । समयमै रोग पत्ता लगाए निको पार्न सकिन्छ वा बिग्रँदै जाने रोग भए उपचारको योजना बनाउन मिल्छ ।
बिग्रँदो जीवन शैली, आहार विहारमा लापरवाही, रक्तचाप र मधुमहेको उचित उपचार नगर्ने आदि एकातर्फबाट रोग बढने कारण हो भने अर्कोतर्फ मिर्गौलाको रोग समयमै पत्ता लगाउन नसक्नुको साथै उमेर सँगसँगै मिर्गौला कमजोर हुँदै जान्छ भन्ने तथ्य सबैलाई थाहा नहुनु पनि हो ।
मिर्गौला बिग्री हालेमा शुरु शुरुमा खानपीन उपचारले धान्छ तर रोगमा अन्तिम अवस्था पुगेपछि डायलिसिस, प्रत्यारोपण चाहिन्छ ।
अस्पतालमा गएर हप्तामा २ पटक रगत शुद्ध गर्ने हेमोडायलिसिस वा घरमै बसेर विशेष पानीको प्रयोग गरेर शुद्ध बनाउने पानी डायलिसिस (पेरिरोनियल) डायलिसिसको माध्यमबाट नेपालमै विगत ३२ बर्षदेखि सेवा उपलव्ध छ ।
मिर्गौलाको रोग समयमै पहिचान गर्न वर्षको एकपटक परीक्षण र स्वस्थ जीवनशैलीको विकल्प छैन ?
मिर्गौला स्वस्थ राख्न २।३ लिटर जति पिसाव फेर्ने गरी झोल पदार्थ पिउनु दश हजार पाइला (७ किलोमिटर हिँड्नु वा योग व्यायाम गर्नु । ७।८ घण्टा सुत्नु, चुरोट खैनी जाँड रक्सी नखाने तर वनस्पति जन्य खाना (सागसव्जी फलफुल र अन्न, दाल गेडागुडी बढि) खाने माछामासु, दुध दही कम, गुलियो र मैदाका परिकार सकेसम्म कम गरेमा स्वस्थ रहन सकिन्छ । खासगरी तौल बढि भएका, उमेर बढि भएपछि रक्तचाप र मधुमेह छ भने ६।६ महिनामा स्वास्थ परिक्षण गरे राम्रो हुन्छ ।
दुखाइ कम गर्ने औषधी, कडा खालका एन्टीबायोटिक र कन्ट्राष्ट हालेर गरीने सिटी स्क्यान वा एन्जीयोग्राम गर्दा मिर्गौलाको अवस्था ख्याल गरेर मात्र गर्न मनासिव देखिन्छ ।
नेपालमा प्रत्येक वर्ष ३ हजार व्यक्तिहरु मिर्गौला रोगको अन्तिम अवस्थामा पुगेर डायलिसिस पाए मात्र बाँच्ने तथ्य सबैलाई थाहा छ ।
हाल लगभग ५ हजार व्यक्तिहरु डायलिसिसमा छन्, देशभरीका डायलिसिस केन्द्रहरुमा ।
रोग घटाउन प्रत्येक व्यक्ति जिम्मेवार बन्नु पर्छ । आफ्नो मिर्गौला कस्तो छ भनी परीक्षण गर्ने, स्वस्थ जीवनशैली अपनाउने, र मिर्गौलाबारे चेतना बढाउन सक्रिय भुमिका खेल्ने ।
यदि हामी सबैले जिम्मेवारी बहन गरेमा रोग समयमै पत्ता लाग्छ । सकिनेको उपचार हुन्छ, नसकिनेको मात्र डायलिसिस वा प्रत्यारोपण गरिने छ ।
एक जनाको मिर्गौला बिग्रन जोगाउन सके लाखौं रुपिँयाको बचत हुन्छ, सय जनाको जोगाए करोड र हजार जनाको जोगाउन सके अरबौं बचत हुन्छ । यो सब तब सम्भव छ जब हामी सवै जना जिम्मेवार बन्छौं ।
विश्व मिर्गौला दिवस २०७७ को उपलक्ष्यमा हामी सबैले जिम्मेवारी बहन गरौं ।
“स्वस्थ मिर्गौला स्वस्थ नेपाल” बनाउन यो प्रत्येक जिम्मेवार नागरीकको कर्तव्य पनि हो ।
(लेखक मिर्गौला रोग विशेषज्ञ हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध