नेवाः छन्द कविता पुनर्जागरण अभियानको पहिलो कार्यक्रम सम्पन्न

महाकवि सिद्धिदास महाजु, कवि योगविरसिंह कंसाकार, कवि केशरी चित्तधर हृदय लगायतले आफ्नो जीवनकालमा प्रयोग गरेको नेवाः छन्द कविता अभियानलाई पुनः निरन्तरता दिनका लागि गत हप्ता गठन गरिएको नेवाः छन्द कविता पुनर्जागरण अभियानको पहिलो कार्यक्रम श्रीपञ्चमीको पुण्यदिनमा जगतसुन्दर ब्वनेकुथिमा सम्पन्न भएको छ ।
अभियानका संयोजक लोककवि राजभाइ जकःमिको सभापतित्व र कवि लाभरत्न तुलाधरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अभियानको कार्य समिति सदस्य ज्ञानेन्द्र बज्राचार्यले स्वागत र सदस्य राधेश्याम महर्जनले कार्यक्रमको उद्देश्यमा प्रकाश पारेका थिए ।
सभापति जकःमिले अभियानको अवधारणा प्रस्तुत गर्दै सदियौंदे नेवार पुर्खाले संरक्षण गर्दै आइरहेको हाम्रो छन्द शास्त्रीय कविता नयाँ पुस्तालाई हस्तान्तरण गर्नु नै अभियानको प्रमुख उद्देश्य रहेको बताए ।
यस्तै प्रमुख अतिथि कवि लाभरत्न तुलाधरले विहांचुलि लयमा एउटा आफ्नो छन्दवद्ध कविता सुनाउँदै छन्दको महत्वबारे आफ्नो धारणा राखेका थिए । उनले यो पुनर्जागरण अभियान नेपालभाषा पद्य साहित्यको इतिहासमा एक महत्वपूर्ण कार्यक्रम भएको बताउँदै सफलताको कामना गरे ।
अतिथि ब्वनेकुथिकी प्रिन्सिपल सुनिता मानन्धरले यस पुनर्जागरण अभियान ब्वनेकुथिका संस्थापक र सञ्चालक सदस्य लोककवि जकःमिको नेतृत्वमा अगाडि बढेकोले जगतसुन्दर ब्वनेकुथि गौरवान्वित भएको बताउँदै शुभकामना व्यक्त गरे ।
अभियानकी सदस्य विद्या चित्रकारले सञ्चालन गरेको कार्यक्रममा सदस्य डा. सुमन मानन्धरले धन्यवाद ज्ञापन गरेका थिए ।

जगत सुन्दर ब्वनेकुथिका विद्यार्थीहरू छन्द सम्बन्धी ज्ञान लिँदै ।

दोश्रो चरणमा ब्वनेकुथिका १४ जना विद्यार्थीहरुलाई प्रशिक्षक राजभाइ जकःमिले ‘नेवाः छन्द कविता स्यने, कने, ब्वने’ (नेवार छन्द कविता सिकाउने, सुनाउने र पढाउने) नाम दिएर प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थिए । यो प्रशिक्षण तीन दिनसम्म सञ्चालन हुनेछ ।
विद्यार्थीहरुलाई छन्दको ज्ञानका साथसाथै नेवार छन्द कविता वाचन कला सिकाउने काम हुनुका साथै यो प्रशिक्षण उपत्यकाका अन्य विद्यालयहरुमा पनि सञ्चालन गर्दै जाने योजना रहेको संस्थाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध