देशलाई माया गर्ने क्रान्तिकारी महिला ः स्नेहलता
वि.सं. २००४ सालमा इन्कलाब जिन्दावाद, राणा शाही मूर्दावाद ! हामीले पढ्न पाउनु पर्छ, लगायत नाराहरु घन्काउँदै राणा सरकारको विरोधमा खुल्ला हाँक दिई, सडकमा ओर्ली, गगनभेदी नारा लगाउँदै, लाठी खाई गिरफ्तारी दिएको देख्ने जति तिन छक्क परेका थिए । लाज र आत्माग्लानीले तिनीहरुका शिर झुकेका थिए । महिलाहरुले त ज्यानको प्रवाह नगरीराणाको विरुद्धमा त्यत्रो साहस र अठोट देखाए भने हामी लोग्ने मानिस किन डराएर बस्ने ? भन्ने भाव, साहस र चेतना तिनीहरुमा जागेको थियो । सबलाई आश्चर्यचकित पार्दै जनताको हक, हित विकासको लागि किशोरी अवस्थामा आफ्नो भविष्य र ज्यानको समेत प्रवाह नगरी संघर्षको मैदानमा होमिने आन्दोलनकारीहरु मध्ये एक हुनुहुन्थ्यो, स्नेहलता । उहाँ गिरफ्तार हुनुभयो । हिरासत भित्रै विभिन्न माग राखी अनसन शुरु गर्नु भयो । राणाहरुले उहाँलाई झुण्ड्याएर मार्नेसम्मको धम्की दिए । तर, उहाँ जहानियाँ राणा शासनका अगाडि झुक्नु भएन । हार खाएर सात दिनका दिन उहाँलाई छाड्न बाध्य भए । पक्राउ परेको कारण गुरुवाचार्य परिवारले आफुहरुलाई बहिष्कार गरेको तितो अनुभव उहाँसँग छ । तिनै स्नेहलता वःन (गुरुवाचाय) श्रेष्ठको जन्म वि.सं.१९८९ श्रावणमा काठमाडौंको त्यौड असन त्योर धलासिमा भएको थियो । बाल्य अवस्थामै बुवा आमाको न्यानो मायाबाट बन्चित हुन पर्नुका साथै आफ्ना साना(साना भाईहरुको पालन पोषणको गरुङ्गो भारी बोक्न परेको थियो । उहाँका बुवाको चालिस वर्षको युवा उमेरमा मृत्यु भयो । बाबुको मृत्युले परिवारमा पारेको बज्रपातको चोट राम्ररी सेलाउन नपाउँदै केही वर्ष पछि उहाँकी ममतामयी माताको पनि देहावसान हुन पुण्यो । आमाको देहावसान हुँदा स्नेहलता १४ वर्षकी कलीली केटी हुनुहुन्थ्यो । माता पिता स्वर्गे भएपछि उहाँहरू आफ्नी हजुरआमा तथा माइला बा जो विधुर हुनुहुन्थ्योका साथमा बस्न थाल्नु भयो । माइला बाका चार छोरा थिए ।
आफ्ना दुई भाइहरू बिष्णु गोपाल र नितेन्द्र गोपाल (पुष्प गोपाल गुरुवाचार्य सहित छ भाईहरुको स्याहार, पढाई लेखाई गराउनेदेखि सम्पूर्ण घरगृहस्थी स्नेहलता एक्लैले चलाउनु परेको थियो । स्नेहलताले आफूले चाहेको जस्तो खान लगाउन, बस्न कहिले पनि पाउनु भएन । एक्लै काकाको कमाईले ८ जनाको परिवार पाल्नु पर्ने भएकोले स्नेहलता अत्यन्त व्यवस्थित रुपले कम खर्चमा घर चलाउनु हुन्थ्यो । पठनपाठनबाट अनेकौं अमूल्य ज्ञान हासिल गर्ने बाल्य किशोर अवस्थाको सुवर्ण समय उहाँले आफ्नो लागि खर्चिन पाउनु भएन ।
तिक्ष्ण बुद्धिकी उहाँ सानो उमेरमै राजनीति कर्मीको सम्पर्कमा पुग्नु भएको थियो । आफ्नो हजुरआमाको साथमा घरायसी घरधन्दा गर्दागर्दै उहाँले सामाजिक र राजनीतिक कामको थालनी गर्नु भएको थियो । भारतीय स्वतन्त्रता संग्राम पछि नेपालमा परेको प्रभाव र त्यो बेला नेपालमा जहाँनिया राणा शासनको बारेमा दिवाकर राज भाजु र चित्तरञ्जन नेपालीका कुरा सुनेर सामाजिक र राजनीतिक परिवर्तनका पक्षमा र अन्याय अत्याचारका विरुद्धमा उठनु पर्ने निर्णयमा पुग्नु भएको थियो ।
नेपालमा जनताले सिधै खुला रुपमा राजनीतिक विरोध गर्ने अवस्था नरहेकोले । विभिन्न सामाजिक कामको बहाना बनाएर जनताको बीचमा जानुपर्ने हुन्थ्यो । त्यसैले वि.सं. २००२ सालको शिवरात्रीको अवसर पारेर कमरेड पुष्पलाल श्रेष्ठ, टंकविलास गुरुभाजु, शंकरभक्त प्रधान लगायतले औषधी बाँड्ने कामको आयोजना गर्नु भएको थियो । उहाँ पनि पशुपतिमा आएका असक्तहरुलाई औषधी गर्ने काममा लाग्नु भएको ि थयो । त्यो काममा सरकारले हस्तक्षेप गरी गिरफ्तार गर्दा उहाँले भिक्षुणीको जस्तो व्यवहार देखाएर पक्राउ पर्नबाट जोगिनु भएको थियो ।
राजनीतिक आन्दोलनमा लाग्दै जाँदा उहाँले आफु बिरामी परेको पनि बिर्सिएर हिंड्नु हुन्थ्यो । २००८ साल तिरको कुरा हो – राजनीतिक गतिविधि अगाडि बढाउन आर्थिक अभाव भएपछि के गर्ने ? कसो गर्ने भन्ने बारेमा छलफल हुँदा कम लगानीमा सामाजिक काम गर्ने निष्कर्ष निस्कियो । सोही क्रममा स्कुलहरु खोल्ने, त्यसैका माध्यमबाट राजनीतिक र सामाजिक आन्दोलन अगाडि बढाउने कामको थालनी भयो । नेपालको पहिलो महावीर स्कुल संचालन तथा शान्ति निकुञ्ज स्कुल र मंगलबजारको आदर्शकन्या स्कुल खोल्ने क्रममा उहाँले अहम् भूकिा निभाउनु भएको थियो । त्यसै क्रममा पछि प्रदिप पुस्तकालय खोलियो । प्रदिप पुस्तकालयको उद्घाटन प्रेम बहादुर कंसाकार र तिर्थराज तुलाधरले संयुक्त रुपमा गर्नु भएको थियो । उक्त अवसरमा तमाम बुद्धिजीवि, राजनीतिक कर्मी र व्यापारीहरुको उपस्थिति रहेको थियो । त्यसमा स्नेहलताले पनि भाग लिनु भएको थियो । पुस्तकालयको उद्घाटन पछि बसेर अनौपचारिक रुपमा गरिएको कुराकानीमा त्यहाँ उपस्थित सबैले अबदेखि सक्रिय राजनीति गर्ने निर्णय गर्नु भएको थियो । उक्त सल्लाहलाई सबैले मन, वचन र कर्मले इमान्दारीका साथ जस्तासुकै अप्ठ्याराहरू आएपनि पूरा गर्ने भनेका कारण त्यस दिनदेखि आफूमा आएका जिम्मेवारीलाई पूरा गर्ने काममा स्नेहलता कहिले पछि हट्नु भएन । व्यक्तिगत जीवनमा जस्तासुकै अप्ठ्याराहरु आएपनि विरोधी सामु सदा सतिसाल झै ठिङ्ग उभिएर राष्ट्र हितका काममा लागि नै रहनुभयो ।
नेपालमा महिला आन्दोलनलाई संगठित गर्ने काममा उहाँको योगदान महत्वपूर्ण छ । महिलाका हकहितका पक्षमा काम गर्नका लागि वि.सं.२००४ श्रावण २२ मा गठित नेपाल महिला संघको संस्थापक महासचिवको जिम्मेवारी लिएर काम गर्नु भयो । उक्त संस्थाको संचालनमा देखिएका विविध समस्याको समाधान निकाल्ने काममा उहाँको स्थान अगाडि रहेको थियो । महिला संघको संचालनमा आर्थिक कठिनाई पर्दा उहाँले आफ्नी हजुर आमाको कपडा च्यातेर बेच्ने गरेको कुराले पनि प्रष्ट हुन्छ । उहाँको संस्था प्रतिको योगदान कति छ । महिला संघ मार्फत राणा शासन विरुद्धको कार्ययोजना बनाउने, रातारात बैठक बस्ने, पर्चा पम्पलेट बाँड्ने काममा लाग्नु भयो । राष्ट्र हितका पक्षमा सधैं सोचीरहने उहाँले राणा शासनको अन्त्य पछि श्री ५ त्रिभुवन समक्ष राष्ट्रको सम्पत्ति बाहिरिन नदिनका लागि राणाहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग गर्नु भएको थियो । राष्ट्रियकरण गरेको सम्पत्तिले उद्योग धन्दा स्थापना गरी राष्ट्रको विकास गर्नु पर्ने माग उहाँको थियो । त्यो कुरा हुन नसक्ने बताउँदै राजाले राणाहरुको सम्पत्ति उनीहरूका श्रीमतीले विवाहमा ल्याएको दाइजो हो, हामीले केही गर्न मिल्दैन भनेका थिए । त्यसै गरी राष्ट्रिय झण्डाको प्रयोगमा पनि सिमा हुनु पर्ने माग उहाँले गर्नु भएको थियो । त्यसभन्दा अघि राष्ट्रिय झण्डाको प्रयोग गसले पनि गर्न पाउने चलन थियो ।
राणा शासनको अन्त्य भएर प्रजातन्त्रको उदय भएको भनिए पनि जनताको अवस्था ज्यूँ का त्यूँ भयो । त्यो देखेर दुःखी भएका राजनीतिक कर्मिहरुले राजनीतिक पार्टीका माध्यमबाट आफ्ना गतिविधिहरुलाई अगाडि बढाउँदै लगे । सोही क्रममा स्नेहलता बामपन्थि राजनितिमा लाग्नु भयो । नेपाल कम्युनिस्ट पार्टी तुलसीलाल समूहकी केन्द्रीय सदस्य भएर काम गर्नु भयो । अहिले उहाँ नेकपा एमालेको समर्थक हुनुहुन्छ । महिलालाई मताधिकार थिएन । २००४ सालको वैधानिक कानुनमा महिलाहरुलाई चुन्ने र चुनिने अधिकार हुनुपर्छ भन्ने माग लिएर श्री ३ पद्मशमशेर को दरवारमा गएको डेलिगेशनमा स्नेहलता पनि हुनुहुन्थ्यो । मताधिकारको माग गर्दा राणाले ‘हाम्रो रीति रिवाज र धर्मले नदिएका कुरा कसरी गर्ने’ भनेका थिए । त्यसको जवाफमा उहाँले ‘रीति रिवाज र धर्मले अधिकार नदिएका भनिएका महिलाबाट जन्मिएकाहरुले गर्न हुने महिलाले गर्न किन नहुने ?’ भनी प्रतिप्रश्न गर्नु भएको थियो । महिलाहरु नभुकेपछि उहाँहरुको माताधिकारको माग पूरा भयो ।
वि.सं.२०२३ तिर राजा महेन्द्रले राष्ट्रिय पञ्चायतको सदस्य हुनका लागि बोलाउँदा उहाँले पार्टीको पक्षमा त्यागको नमूना देखाउनु भएको थियो । त्यो बेला उहाँ आर्थिक रुपमा निकै कठिन अवस्थाबाट गुज्रिदै हुनुहुन्थ्यो । उहाँले रातो माटो डल्ला पारेर बेच्नु भयो, अचार बनाएर बेच्नु भयो तर विरोधीले दिएको पदको पछि लाग्नु भएन । वि.सं.२०३६ को जनमत संग्रहमा पार्टीहरु एक भएर पञ्चायतका विरुद्धमा लाग्नु पर्ने धारणा राख्नु भएको थियो । त्यो समयमा माथिल्ला स्तरका नेताहरुबाट उहाँको विचारको समर्थन नहुँदा खिन्न हुन परेको थियो ।
वि.सं.२०४६ को जन आन्दोलनमा ने.क.पा.तुलसीलाल समूहको केन्द्रीय सदस्यको हैसियतमा सक्रिय सहभागिता जनाउनु भएको थियो । उहाँको विचारमा, “राजनीतिमा लगातार टिकिरहने कुरा अत्यन्त कठीन कुरा हो । यो भनेको नदीमा सालिग्राम खोजे जस्तो हो, चिप्लोमा हिंडे जस्तो हो । जो पायो त्यसैले त्यस्तो काम गर्न सक्दैन । त्यसकारण राजनीतिमा लाग्ने र टिकिरहने कुरालाई सामान्य रुपमा हेर्नु हुँदैन । हुन त राजनीति सबैको अगुवा नीति हो तर राजनीति पनि ठीक नीति र विचारबाट निर्देशित भएमा मात्र यो अगुवा नीतिका रुपमा रहने छ । हैन भने अगुवा भन्न पनि लाज हुनेछ भन्ने कुरा उहाँ गर्नु हुन्छ ।’ उहाँको दृष्टिमा अहिलेको र उहिलेको राजनीति र राजनेतामा आकाश र जमिनको अन्तर रहेको छ । पहिले राष्ट्र र राष्ट्रियता अगाडि हुन्थ्यो भने अहिले दल र दलका नेताको स्वार्थ अगाडि रहेको देखिन्छ । यसबाट केहीकेहीलाई हित होला तर सिङ्गो राष्ट्रलाई हित नहुने उहाँको धारणा रहेको छ । त्यस कारण अहिले नै सबैले राष्ट्र हितको पक्षमा काम गर्नु पर्ने धारणा राख्नु हुन्छ । यी भनाइहरुबाट पनि प्रस्ट हुन्छ कि चौरासी बसन्त पार गरेकी उहाँले राष्ट्रकै पक्षमा चिन्तन गर्दै हुनुहुन्छ । जनताको शासन रहेको मुलुकमा अहिले राजनीतिक आन्दोलन गरिरहेने भन्दा पनि विकासको बाटोमा देश अगाडि बढ्नु पर्छ भन्ने उहाँको धारणा रहेको छ ।
वि.सं. २०२१ मंसीर १८ गते ललितपुर, चाकुपाटका गोविन्द श्रेष्ठसँग उहाँको विवाह भएको थियो । उहाँका आफ्ना सन्तान नभए पनि नेपाललाई आमा भन्दा बढी माया गर्ने सबैलाई सन्तान मान्नुहुन्छ । जीवन पर्यन्त दिने काम मात्र गर्नु भएकी स्नेहलता संविधान बनोस आर्थिक विकास र समतामूलक समाज निर्माण होस् भन्ने चाहना व्यक्त गर्नु हुन्छ ।
– प्रस्तुती ः सुनिता महर्जन








