यःमरि र यःमरि पूर्णिमा
योमरि पुर्णिमा खेती किसानीसँग सम्वन्धित अन्नको चाडको रुपमा रहेको छ । किसानहरुले असारमा धान रोपी मंसिरमा धान भित्र्याउने गर्दछ । नयाँ धान खान हुन्न भन्ने मान्यता नेवार समुदायमा रहेको पाइन्छ । यसैले नयाँ धानलाई भकारीमा राखी पुजा गरी थन्काइ पुरानो भएपछि खानको लागि तयार गरिन्छ । किसानहरुले भकारी कु (धान्यलक्ष्मीको) पूजा गरी प्रसादका रुपमा चढाइने यःमरीमा विभिन्न प्रकारका देवताको मूर्तिहरु बनाएर पुजा गर्ने चलन रहेको छ । जसमा गणेश, कुवेर, लक्ष्मी, कुमार, सानो र ठूलो यःमरि, ल्वहंचामरि आदि बनाई चारदिनसम्म राख्ने गरिन्छ । यसलाई चारदिन पछि ‘क्वकाय्गु’ भनेर प्रसादको रुपमा छोरी चेली बोलाई खाने–खुवाउने गरिन्छ ।
इतिहासकारहरुको कथंन अनुसार लिच्छविकालका राजा अंशुवर्माको राज्यकालदेखि यःमरी पर्वको रुपमा विकास भएको मानिआएको छ । धान्य पूर्णिमाको दिनदेखि दिन लामो र रात छोटो हुने जनविश्वास रहेको छ । यःमरि पूर्णिमा मंसिर–पुष महिनामा पर्ने गर्दछ । यि दुवै महिना उपत्यकामा धेरै चिसो हुने महिना हो ।
योमरी बनाउँदा खाली चामलको पिठोको डल्लो भित्र चाकु, तिल, खुवा, किसमिस आदिको राखेर पोका पार्ने गरिन्छ । यी सामग्रीहरुमा कार्बाेहाइड्रेड प्रशस्त मात्रामा हुन्छ भने चाकुबाट अत्यधिक मात्रामा ग्लुकोज र आइरनसमेत प्राप्त गर्न सकिन्छ ।
यसैगरी तिलले मानसिक दुर्बलता कम गर्ने, कब्जियतको समस्या समाधान गर्न मद्दत गर्दछ । यस्तै खुवामा प्रोटिन, क्याल्सियम, भिटामिन बी, ए, डी र ई सहित फस्फोरस, म्याग्नेसियम, आयोडीन तथा धेरै खनिज र बोसो हुने गर्दछ ।
यसरी योमरि बनाउन प्रयोग हुने विभिन्न पदार्थहरुले जाडो मौसममा शरीरलाई आवश्यक पर्ने विभिन्न पौष्टिकतत्वहरु प्राप्त गर्न सहयोग पु¥याउँदछ । जसले गर्दा स्वस्थ्य जीवन यापन गर्न सहयोग पु¥याउँदछ ।
यःमरि कलाको दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । नयाँ धानको पुजाका क्रममा बनाइने विभिन्न देवताहरुको मूर्तिले हामीलाई स्वावलम्बी बनाउन मद्दत गर्छ । मूर्तिकलाको प्रारम्भिक विकासका लागि नयाँ पुस्तालाई शीप हस्तान्तरण गर्न यसले मद्दत गर्छ । धान्यपूर्णिमाका दिन गणेश, लक्ष्मी, कुवेर जस्ता मूर्तिहरु बनाएर कला प्रदर्शन गर्ने अवसर पनि प्रदान गर्दछ । यःमरिको आकारसँग प्रकृतिलाई पनि जोडिएको छ । योमरिमा एकातिर चुच्चो हुन्छ । यःमरि पूर्णिमापछि योमरिको चुच्चो जति नै दिन लामो हुने जनविश्वास रहेको छ ।
नेवार समुदायमा योमरि बनाई आफू मात्र खाने चलन छैन । योमरि पुर्णिमाको दिन राति सवै मिलेर नाचँगान गरि योमरी माग्न जाने चलन छ जसलाई त्यःछिंत्यः भनिन्छ । त्यःछिंत्यको लागि नेवार समुदायमा छुट्टै लोकगीत पनि गाँउने गरिन्छ ।
योमरि योमरि पूर्णिमाका दिन मात्र खाने नभई विभिन्न सांस्कृतिक उपलक्ष्यमा पनि प्रयोग गरिन्छ । विशेषतः नेवार समुदायको १२ वर्ष मुनिका बच्चाहरुको जोड वर्षमा योमरिको माला लगाई दिने प्रचलन रहेको छ । यसैगरी विभिन्न देवीदेवताहरुको वर्षबन्धन पूजा, रातो मछिन्द्रनाथ, सेतो मछिन्द्रनाथ, पाहाँचः¥हेको देवता जुधाउने जात्राहरुमा पनि योमरि चढाउने गरिन्छ ।
यो चाड ज्यापु अर्थात किसानहरुसित सम्वन्धित भएकोले ज्यापु समुदायका मानिसहरुले २०६१ सालदेखि ज्यापु दिवस मनाउँदै आइरहेको छ ।
समग्रमा भन्नु पर्दा नेवार समुदायमा मनाउने यो चाड बैज्ञानिक, स्वास्थ्य, मनोरञ्जनको दृष्टिकोणले भरिपूर्ण छ ।
यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस्, खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी किराँत समुदायले उधौली पर्व मनाउने परम्परा छ । पूजापछि साकेला नाचिन्छ ।
लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरुले चासुवा र सुनुवारहरूले फोलष्याँदर मनाउँछन् । गुरुङले सिमेभूमेको पूजा गरी न्वागी खान्छन् । पूर्वका थारूहरूले नेमान गर्ने, आगनको ध्वजा फेर्ने र छोराको वर्तमन गर्ने गर्छन् । धानको च्युरा बनाएर सख्खर मिसाएर लड्डु बनाई देउतालाई चढाउने र नेमानमा पूजा गर्ने गर्छन् ।








