मिलन बस्ती घुम्दा उब्जेका भावहरु
चारैतिर पहाडले घेरिएको सुन्दर गाउँ, विहान चराचुरिङ्गीको आवाजसँगै पहाडमा लहरै फैलिएका बादल । मानौ स्वर्ग नै यहिँ झरेको हो कि जस्तो लाग्ने । अति नै मनमोहक दृश्य । यो दृश्यलाई क्यामेरा कैद गरी विश्व सामु चिनाउने रहरसँगै पत्रकार समूह पुगेको थियो । काठमाडौंको कंलकीबाट १३८ किलोमिटर टाढा रहेको यो ठाउँ । नेपालीको आन्तरिक पर्यटकसँगै विदेशी पर्यटकको लागि पनि गन्तव्य हुने ठाउँ हो ।
यहाँ जानको लागि दुईतिरबाट जान सकिन्छ कंलकिदेखि थानकोट हुँदै नागढुङ्गा धार्के भएर अर्को कंलकीबाट सितापाइला हुँदै जीवनपुर भएर । धार्के पुग्दासम्मको बाटो राम्रो भएपनि उताको बाटो निर्माणाधिन भएकोले यात्रा केही असहज छ, तर निर्माण पछि भने यहाँको यात्रामा सुधार आउने देखिन्छ ।
व्यवसायको हेतुले धेरै ठाउँमा नयाँ देवताको प्रचार प्रशार भएको हामीले पाएका छौं तर गोर्खा प्रकृतिले दिएको उपहार हो । काठमाडौको खुसिबुँबाट नेवाः पत्रकार राष्ट्रिय दबूका १४ जना पत्रकारहरु समावेश भएको हाम्रो यात्रा सितापाइला, भीमढुङ्गा, धार्के, मलेखु, मुग्लिन खैरनिटार हुँदै गोर्खाको यात्रा शुरु भएको थियो । सललल पिच बाटोबाट यात्रा निकै रमाइलो भएको थियो । हाम्रो यात्रा गोर्खाको भिमसेन थापा गाउँपालिका वडा नं ५ मा पुग्ने तय भएको थियो ।
नेवाः पत्रकार राष्ट्रिय दबूको भदौमा हुने महाधिवेशनको लागि स्थलगत निरीक्षण भ्रमणको रुपमा हाम्रो यात्रा सुरु भएको थियो । हामी पहिलो दिन गोर्खाको बजार हुँदै विभिन्न वडा छुँदै प्राकृतिक दृश्यको अवलोक गर्दै यात्रा गरिरहेका थियौ । बिहान ९ बजेबाट शुरु भएको हाम्रो यात्रा दिउँसो २ बजे निर्धारित स्थलमा पुग्यौं । हामी सित नेवाः पत्रकार राष्ट्रिय दबूका सल्लाहकार राजु शाक्य, अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, उपाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठ, महासचिव के के मानन्धर, म सहसचिव सुनिता महर्जन, कोषाध्यक्ष बाबुकाजि श्रेष्ठ, गण्डकी प्रदेशका संयोजक उत्तम कुमार श्रेष्ठ, सदस्यहरु अनिता महर्जन र राजेश बज्राचार्य, पूर्णभक्त दुवाल साथै मेरो साप्ताहिकका सम्पादक रत्नकाजी महर्जन, मुखू पत्रिकाका व्यवस्थापक निलशोभा महर्जन, नेवाः पत्रकार राष्ट्रिय दबू गोरखा जिल्लाका अध्यक्ष भिमसेनबाबु श्रेष्ठ, पत्रकारहरु विनोद श्रेष्ठ, अन्जन श्रेष्ठ र हिरालाल श्रेष्ठको टिम रहेको थियो ।
हामी त्यहाँ पुग्दा मिलन बस्ति होमस्टेका व्यवस्थापन समितिका अध्यक्ष प्रेमचन्द्र श्रेष्ठको समूहले फूलमाला र टिकाले स्वागत गरेका थिए । रमाइलो प्राकृतिक सौन्दर्यले भरिएको त्यस ठाउँमा चिटिक्क परेका ६२ वटा घरधुरी थिए । भिमसेनबाबु श्रेष्ठले दिएको जानकारी अनुसार २०७२ सालको भुकम्पले घर भत्किएपछि भीमसेन थापा गाउँपालिका वडा नं ४ का नेवाः समुदायका बस्ति र भिमसेन थापा गाउँपालिका वडा नं ५ का पाण्डे, भट्टराई, तिवारी समुदायका बस्ति मिलाएर मिलन बस्तिको रुपमा निर्माण गरेको हो । मिलन बस्तिको बारेमा जानकारी गराउँदै उहाँले जनयुद्धको ५२÷५३ साल तिरका नेताहरुले आफुलाई परिचय गराउने क्रममा मिलन बस्तिको नामले परिचित गराउने र त्यहि नामलाई सार्थक बनाउन हामीले यो बस्तिको नाम मिलन बस्ति राखेको हो भन्नु भयो । साथै एक अर्कालाई पर्दा सहयोग गर्ने मिलेर बस्ने यस बस्तिको उद्देश्य रहेको छ । यस बस्तिलाई अरु चर्चामा ल्याउन साथै पर्यटकिय हिसावले प्रचार गर्न यसैलाई होम स्टेको रुपमा परिवर्तन गरेको पनि उहाँको भनाई रहेको छ । बस्तीमा करिब १३८ घरधुरीलाई समेट्ने लक्ष्य राखिएको छ । हालसम्म ८५ वटा घर निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी घरहरूको निर्माण कार्य जारी छ ।
गोर्खा भन्ने वित्तिकै हामी माझ राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहका झल्को आउँछ । उहाँको जन्म यहिँ वि. सं. १७७९ भएको थियो । गोर्खा घुम्ने क्रममा उहाँको दरवारको मुख्य चर्चा हुने गरेको छ । दरवार थोरै उकालो चढ्नु पर्छ । आन्तरिक र बाह्य पर्यटकको सुविधाको लागि यहाँ खुटकिलो निर्माण गरेको छ ।
दरवारमा पुगेपछि दरवार र त्यहाँको वरिपरिको दृश्यले मन नै हर्षित हुन्छ । साथै दरवारको सँगै जगतमाता भगवती कालिको मन्दिर र जगतगुरु मानिने गुरु गोरखनाथको गुफा पनि छ । साथै यहाँ हामीले संग्रहालय, भिमसेन थापा जन्मेको घर, जुन अहिले जिर्ण रहेको छ । भिमसेन थापाको सालिकका निर्माण स्थल, जनयुद्धकालमा सहादत प्राप्त गरेका सहिदहरुको स्मृतिमा निर्माण गरिएको शहिद दिलबहादुर रम्तेल स्मृति पार्क जहाँ लडाकुहरु र सहादत प्राप्त भएका शहिदको फोटो संग्रहित गरिएको छ । गोरखामा शिक्षा र अस्पतालको पनि व्यवस्था रहेको छ । यहाँबाट काठमाडौंमा दशैंको बेला फुलपाति ल्याउने हालसम्म पनि परम्परा रहेको छ ।

आधुनिक नेपालको सुरुवात भएको स्थल नेपाली क्रान्तिको लागि पनि उल्लेखनीय स्थान हो । भौगोलिक रुपमा निकै ठूलो गोरखा जिल्लामा मानिसको बस्ती भने निकै पातलो देखिन्छ । अधिकांश घरहरुमा ताल्चा झुण्डिएको देखिन्छ । स्थानीय मानिसहरु रोजगारको खोजीमा काठमाडौं, चितवन जस्ता ठाउँमा र वैदेशिक रोजगारीमा जाने गरेको हुँदा घरमा महिला र जेष्ठ नागरिकहरु मात्र भेटिन्छन् । भीमसेनथापाको घर भनिएको स्थानमा उहाँको पूर्णकदको शालिक निर्माण गरिएको छ । तथापि त्यहाँको व्यवस्थापन अस्तव्यस्त देखिन्छ । शालिक रहेको क्षेत्रमा घाँसपातले घेरिएका छन् । नेपालकै पहिलो प्रधानमन्त्रीको घरलाई यसरी बेवास्ता गरिनु कतिको उचित होला ?
पूर्वाधार निर्माण र विकासको यथेष्ठ सम्भावना बोकेको गोरखा युवाविहीन अवस्थामा पुग्नुमा कसको दोष छ ? यहाँबाट गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि समेत बाहिरिने गरेको स्थानीय बासिन्दाको भनाइले हामीले नेपाललाई कसरी विकास गरिरहेका छौं भन्ने प्रश्न उब्जिएको छ ।
गोरखाको समग्र विकासको लागि सोच्ने कसले ?











