समाजसेवी गोपालकृष्ण अब गायक पनि

सामाजिक क्षेत्रमा सक्रिय समाजसेवी गोपाल कृष्ण महर्जनको पहिचान अब फेरीएको छ । अब समाजसेवी महर्जन गायक पनि बनेका छन् । समाजसेवी महर्जनको गायन रहेको नेपालभाषाको गीत ‘अयलाः अयलाः’ सार्वजनिक भएको छ ।

शनिबार काठमाडौं सुन्धारास्थित सिटिसि मलमा रहेको सिडिसि सिनेमामा महर्जनको गीत अयलाः अयलाःको म्यूजिक भिडियो प्रिमियर गर्दै सार्वजनिक गरिएको हो ।

प्रिमियर पछि दर्शकहरुबाट निकै राम्रो प्रतिक्रिया पाएको र त्यसबाट आफु अझ हौसला मिलेको निर्देशक सुरेन्द्र तुलाधरले बताए । ‘कला क्षेत्रमा हामीले आशा गर्ने भनेकै दर्शकहरुको माया हो । दर्शकहरुबाट जुन प्रतिक्रिया पाएँ, त्यसबाट मलाई अझ राम्रो काम गर्न हौसला मिलेको छ’ निर्देशक तुलाधरले भने ।

म्यूजिक भिडियोका निर्माता समेत रहेका गायक महर्जनले नेपालभाषाको संगीत क्षेत्रलाई एउटा राम्रो गीत दिन सकोस् भन्दै निर्माण पक्षमा कुनै खालको सम्झौता नगरी यो म्यूजिक भिडियो बनाएको बताए । ‘जे काम गर, पुरै मिहिनेत र सामर्थ्य लगाएर गर, राम्रै गर भन्ने मेरो मान्यता हो । त्यहि अनुसार एउटा राम्रो म्यूजिक भिडियो बनाउने कोशिश गरेका छौं’ महर्जनले भने ।

सृष्टि महर्जनसँगै चर्चित अभिनेता पल शाह अभिनित म्यूजिक भिडियोको छायाङ्कन कीर्तिपुरस्थित ससःत्वाः, ठमेलस्थित ज्ञण्ह् र टेकुस्थित बम्बीर शिवालय ट्रस्टमा गरिएको छ ।

निर्देशक तुलाधरकै परिकल्पना रहेको म्यूजिक भिडियोमा कोरीयोग्राफी रोहिया महर्जनले गरेकी छिन् । सौरभ लामाको डिओपीमा इश्वर लाल सिंकेमनाले छायाङ्कन गरेका छन् । दृश्य सम्पादन सुजन बडालले गरेका छन् ।

शब्द रचना पवन जोशीको छ भने संगीत अनिल तुलाधरले दिएका छन् । ओएसआर डिजिटल युट्युबमार्फत यो गीत विश्वब्यापी सार्वजनिक भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध