नालाका मान्छे समेत सहभागी भएर बनाइन्छ मच्छिन्द्रनाथको रथ
उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको जात्रा हो । यस जात्रामा बर्षा तथा सहकालको देउतालाई खुशी बनाइन्छ । हरेक बर्षको बैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्दछ । असार चौथीमा राष्ट्रप्रमुखबाट भोटा देखाएर जात्रालाई बिधिवत सम्पन्न गरिन्छ । यस जात्रालाई सोह्र सय बर्ष पुरानो जात्रा मानिदै आएको छ । जात्रामा बत्तीस लक्षणले युक्त बत्तीस फिट अग्लो पाँच तल्ले रथ निर्माण गरिएको हुन्छ ।
रथ निर्माणका लागि सुरुमै तिथिमिति वा विधि अपनाउने र चैत पुर्णिामाको दिन बिधिवत पूजा गरी भोलिपल्टबाटै रथ निर्माण थालनी गरिन्छ । रथ निर्माणका लागि छुट्टाछुट्टै पाँच समुहले काम गरेका हुन्छन् । ती समुहमध्ये एक समुह काभ्रेका नालाका मानिसहरूको हुन्छ ।
बाराही समूह ः
बाराही समुहले रथको तल्ला थप्ने र चक्का राख्ने कार्य गरेको हुन्छ । यस समुहमा २४ जना रहेका हुन्छन् ।
बोसी समुह ः
बोसी समुहले रथको आवस्यक पर्ने काठहरू जोहो मिलाइदिने र काँठलाई निश्चित आकार ल्याउने काम गर्छन् । यो समुहमा बाह्र जना रहेका हुन्छन ।
घकु समुह ः
घकु समूहले रथलाई निश्चित दिशा देखाउने र रथ तान्ने गर्दछ । यो समुहमा आठ जना रहेका हुन्छन् ।
चित्रकार समुह ः
चित्रकार समूहले विभिन्न प्राकृतिक रंग प्रयोग गरि रथमा विभिन्न देवीदेवताको आकृति वनाइ आकर्षण थप्ने काम गर्दछन ।
ञंवाः गुठी समुह ः
ञंवाः गुठी समूहले जोर्नीहरूमा डोरी वा बेतले कसिलो गरि बाध्ने काम गर्दछन । यो समुहमा १२ जना गुठीयारहरु रहेतापनी ३० ÷४० जनाले रथ निर्माणमा खटेका हुन्छन् । बैशाख ४ गते २०८३ मा उज्यालो एफ एम लहना कार्यक्रममा कुमार रंजितलाई गुठीका नायो प्रेम महर्जनले दिएको अन्तर्वार्ता अनुसार राजा नरेन्द्रदेवको पालामा नालाबाट ञंवाःहरु रथ बाध्नका लागि ललितपुरमा ल्याइएका थिए । यिनीहरू नरेन्द्र देवको पाला बगैंचामा काम गद्र्थे । हाल ञंवाःहरु ललितपुरको पांच वटा टोलमा फैलिएर रहेका छन् । यो रथ निर्माण कार्यमा सबैभन्दा महत्त्वपूर्ण काम नै डोरी र वेतले रथ बाध्ने काम हो । यसमा निकै महत्त्वपूर्ण कामहरु रहेका हुन्छ्न । ती प्राचीन प्राबिधि कामहरु उनीहरु बाहेक अरुले गर्न कठिन हुन्छ ।
स्मरण रहोस् लिच्छविकालमा काभ्रेको नाला बेत र बाँसजन्य कलाका लागि निकै कहलिएको थियो । त्यसै समयमा बाँसद्वारा निर्मित कैलासकुट भवन पनि नालामा रहेको जनश्रूति रहदै आएको छ ।
मच्छिन्द्रनाथको रथ तथा जात्रामा नेवार समुदायका अन्य विभिन्न समूहहरू सहभागी हुन्छन् ।
मच्छिन्द्रनाथ जात्रालाई हिन्दु र बौद्ध दुबै समुदायले मान्दै आएका छन् । यस जात्रा मार्फत धार्मिक सहिष्णुता कायम भएको छ ।









