सिद्धि स्मृति अस्पतालले महिला तथा बाल स्वास्थ्य सम्बन्धी समुदायमुखी अनुसन्धानलाई तीव्र बनायो

भक्तपुरकाे भीमसेनस्थानस्थित सिद्धि स्मृति महिला तथा बाल अस्पतालले महिला र बालबालिकाको स्वास्थ्यमा केन्द्रित समुदायमा आधारित अनुसन्धान अध्ययन अघि बढाइरहेको जनाएको छ। अस्पतालले जिल्लाका विभिन्न विद्यालयका शिक्षकसँग गरेको छलफल कार्यक्रममा पछिल्ला अनुसन्धानका निष्कर्ष र आगामी योजना सार्वजनिक गरेको हो ।

अस्पतालका बाल स्वास्थ्य अनुसन्धान परियोजनाका प्रमुख तथा बाल रोग विशेषज्ञ डा. रामकृष्ण चण्ड्योका अनुसार अस्पतालले शिक्षण अस्पताल, महाराजगञ्जसँग सहकार्यमा निरन्तर स्वास्थ्य अध्ययन सञ्चालन गर्दै आएको छ। उनकाे भनाइमा हालै ६ देखि ११ महिनासम्मका बालबालिकामा देखिने रोगकाे विस्तृत अध्ययन सम्पन्न गरिएको छ। यससँगै चार सय गर्भवती महिलाकाे स्वास्थ्य अवस्थामाथि केन्द्रित अर्को अनुसन्धान पनि सम्पन्न भएको अस्पतालले जनाएको छ।

यी अनुसन्धानका निष्कर्षलाई विद्यालय तहसम्म लैजाने उद्देश्यले अस्पतालले जिल्लाभरका शिक्षकहरूलाई एकदिने कार्यशालामा सहभागी गराएको थियो। साना बालबालिकासँग प्रत्यक्ष रूपमा काम गर्ने शिक्षकले स्वास्थ्य व्यवहार, पोषण तथा रोगबारे बुझाइ बढाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले छलफल आयोजना गरिएको अस्पतालको भनाइ छ।

यसैबीच, सिद्धि स्मृति अस्पतालको स्थापना स्वयं एक दुःखद घटनासँग जोडिएको इतिहास छ। समाजसेवी श्यामसुन्दर ढौहडेलका एकमात्र छोरा सिद्धि सुन्दर ढौहडेलको बाल्यकालमै सड़क दुर्घटनामा मृत्यु भएपछि उनको सम्झनामा अस्पताल तथा वृद्धाश्रम स्थापना गरिएको थियो। आज त्यही संस्थाले हजारौं बालबालिका र वृद्ध नागरिकलाई सेवा पुर्‍याउँदै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध