प्राविधिक टिप्पणीः सिल्ट र माटोयुक्त हेटौंडा, मकवानपुर क्षेत्रमा भ्वांग (Sink hole) विकास ः एक जल–भूवैज्ञानिक दृष्टिकोण
पृष्ठभूमि
सिल्ट (Silt) अर्थात धेरैमसिनो बालुवा र माटोले भरिएको क्षेत्रमा जमिन अचानक भासिएको घटना रिपोर्ट भएको छ, जसमा एउटा सवारीसाधन जमिनमा हरायो । यस घटनाले भूमिगत पानी पम्पिङ नै मुख्य कारण हुन सक्ने भन्दै केही भ्रम सिर्जना गरेको छ ।
छलफलबाट प्राप्त आँकलन गर्न सकिने मुख्य तथ्यहरूः
अध्ययन क्षेत्र सिल्ट (Silt) र माटोले भरिएको छ, जसमा Moisture content ( दलदल) देखिन्छ ।
भासिनु अघि जमिन फुलेको (Swelling)/उठेको हुनसक्छ, जसले फुल्ने माटो (expansive clay) को संकेत दिन्छ ।
त्यहाँको भू–गर्भीय पानीको सतह बढ्दो क्रममा छ, घट्दो होइन ।
सो क्षेत्रमा ठूलो मात्रामा भूमिगत पानी तानिएको प्रमाण छैन ।
स्थानीय जनताको मुख्य पानीको स्रोत भूमिगत पानी नै हो।
जनमानसमा उत्पन्न भ्रमः
जनमानसमा छलफल हुँदा केही भू–विज्ञहरूले यो घटना भूमिगत पानीको पम्पिङकै कारण भएको भनी बताएका छन् । तर यदि त्यहाँ अत्याधिक वा धेरै पम्पिङ भएको छैन र पानीको सतह बढ्दै गएको (water level rise) छ भने, यस्तो निष्कर्ष प्रमाणविहीन देखिन्छ । यस्तो दाबीले स्थानीयमा डर सिर्जना गर्दै भूमिगत पानी प्रयोगलाई अनावश्यक विवादमा ल्याएको छ ।
छोटोरुपमा भू–जलमा आधारित प्राबिधिक (Hydrogeological) विवरणः
यो घटना चुन ढुंगामा बन्ने भ्वांग जस्तै नभै माटोमा पानी लिपलिप भएको कारण ठाउँठाउँमा भ्वांग पर्दै जाने हुन्छ/देखिन्छ, जुन तलका कारणहरूले भएको हुन सक्छः
माटोमा पानीको अत्यधिक मात्रा ले माटो कमजोर हुनु
फुल्ने दबाब (swelling pressure) ले जमिन उठ्नु
सम्भावित liquefaction वा तरलीकरण प्रक्रिया
माटोको तलबाट चापयुक्त पानीको माथिल्लो चाप (upward seepage)
यी सबैले माटोको कतरता (shear strength) हराउन सक्छन्, जसले सतही भासिने घटना निम्त्याउँछ — यो चुन ढुंगा पहाड (Karst area) नभएको क्षेत्रमा पनि भ्वांग सम्भव हुन्छ ।
सिफारिस/सल्लाह (Recommendation)ः
भूमिगत पानी विकास रोक्नुको सट्टा, हिसाब, किताब तथा वैज्ञानिक अध्ययनमा आधारित दृष्टिकोण अपनाउनु आवश्यक हुन्छः
छोटो र गहिरो piezometers अर्थात् पानी नाप्ने अनुगमन नलकुप (tube well)बाट पानीको सतहको निगरानी
माटो परीक्षण (जस्तै swelling index, shear strength) को प्रयोग/ परीक्षण ।
भू भौतिकी सर्वेक्षण (geophysical survey) बाट भित्री संरचना पत्ता लगाउने।
नियन्त्रित पम्पिङ प्रणाली को विकास, जसले पानीको दबाब सन्तुलनमा राखोस् ।
भूमिगत पानी अवलोकन सञ्जाल स्थापन गरेर खतरा आउनुअघि चेतावनी दिन सक्ने प्रणाली बनाउने ।
निष्कर्ष
सिंकहोल घटना प्राकृतिक जल–माटो अन्तक्र्रियाको परिणाम हो, न कि मात्र पम्पिङको । वास्तवमा, नियन्त्रित (regulated) वा प्राविधिक रूपमा व्यवस्थापन गरि भूमिगत पानीको प्रयोगले माटोमा मिसिएको पानी (moisture content) घटाउने, फुल्ने प्रवृत्ति कम गर्ने, र स्थिरता बढाउने काम गर्न सक्छ । पम्पिङ रोकेमा पानी आपूर्तिको समस्या झन् बढ्न सक्छ । अतः निर्णयहरू आँकडा (Data)मा आधारित जल–भूवैज्ञानिक तथ्य/अध्ययनको आधारमा लिनु अत्यावश्यक छ ।








