इन्द्रजात्रा सबैको जात्रा हो ः आशामान संगत

  • आशामान संगत काठमाडौं महानगरपालिका ८ वडाका वडा अध्यक्षका साथै काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिको संयोजक हुनुहुन्छ । उहाँलाई यस वर्ष इन्द्रजात्रा मूल समारोह समितिको संयोजकको समेत थप जिम्मेवारी आएको छ । उहाँको संयोजनमा यस वर्ष इन्द्रजात्राका अवसरमा के कस्ता कार्यक्रमहरुको आयोजना हुँदैछन् र यसको तयारी कस्तो भइरहेको छ भन्ने सम्बन्धमा मेरो साप्ताहिकका लागि सम्पादक रत्न काजी महर्जनले गर्नुभएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।
    इन्द्रजात्राको तयारी कस्तो भइरहेको छ ?
    इन्द्रजात्रा मूल समारोह समितिको काठमाडौ महानगरबाट संयोजकको भुमिका निर्वाह गर्ने अवसर प्राप्त भएको छ । गतवर्षहरु भन्दा यस वर्ष व्यवस्थित होस भनेर पहल भइरहेको छ । यसको लागि इन्द्रजात्रासँग सम्वन्धित गुठियारहरु त्यहाँका खलपुचःहरुका साथै जात्रासँग सम्बन्धित व्यक्तिहरु जात्रामा संलग्न हुने विभिन्न पक्षहरुसँग समन्वय गरेर छलफल गरिरहेका छौ ।
    वडा र इन्द्रजात्राको काम बीच समयको व्यवस्थापन कसरी गरीरहनु भएको छ ?
    पक्कै पनि अलिकति चुनौति पूर्ण छ । भएपनि हामी काम गर्छु भनेर आएको । यो जिम्मेवारी भनेको त महानगरको सम्पदाको काम गर्ने जिम्मेवारी वडा अध्यक्ष भएदेखि प्राप्त भएको हो तर यस वर्ष मात्र इन्द्रजात्रा मूल समारोह समितिको संयोजक भनेर यो नयाँ जिम्मेवारी दिइएको हो । गत वर्ष पनि इन्द्रजात्रामा खटिएको नै हो । संयोजकत्वको भुमिकामा यो वर्ष हो । सम्पदा तथा पर्यटन समितिको हिसावले गत वर्ष पनि खटिएको हो । समयको कुरा गर्ने हो भने मेरो वडाका सदस्यहरुले म यहाँ नभएको बेला सहयोग गर्नुभएको छ । जनताको काममा उहाँहरु लागि पर्नु भएको छ ।
    इन्द्रजात्रा व्यवस्थाप समिति र इन्द्रजात्रा मूल समारोह समिति विच कसरी समन्वय भइरहेको छ ?
    पक्कै पनि इन्द्रजात्रा व्यवस्थापन मूल समिति महानगर भित्र जुन वनाएको छ र इन्द्रजात्रा व्यवस्थापन समिति जुन गुठियारहरुको छ जात्रा व्यवस्थित र सहज ढंगमा संचालनका लागि दुवै बीच समन्वयको आवश्यकता छ । उहाँहरुको बिचमा बारम्बार छलफल भयो विगत वर्षहरुमा उहाँहरुको बजेट रोकिरहेको कुरा आयो ७७–७८ देखि ८० सम्म रोकिएको दिने कुरा हामीले छलफलबाट नै टुंग्यायौ । विगत वर्षहरुमा बाँकि रहेको रकम पनि यो वर्ष रिलिज गरिसकेको छौ । यो वर्षको वजेट पनि जात्रा अगाडि नै दिने प्रयास गर्यौं । जात्रामा अलि व्यस्त भएको कारणले जात्राको अवधि भित्र नै यो काम गर्छौं । अरु बाकि आवश्यक परेको कुरा अस्ति पत्रकार सम्मेलनमा पनि हामीले जानकारी दिइसकेका छौ दुवैको संयुक्त प्रयासमा यो जात्रा सवैको हो । यो गुठीहरुको मात्र, महानगरपालिकाको मात्र वा गुठी संस्थानको मात्र होइन हामी सवैको हो भन्ने सन्देश पनि हामीले पठायौ ।
    इन्द्रजात्राको अवसरमा के के कार्यक्रम हुनेछन् ?
    लिंगो ठड्याए पछि त्यहि दिन द लोकल्स भन्ने समूहसित मिलेर डबू रिभाइभ कार्यक्रम अन्तर्गत महादेव पार्वती डबलीमा धिमे नृत्य प्रदर्शन गरेका छौं । सो प्रदर्शनमा तीन वटा उमेर समुहको दिदी बहिनिहरुले नाच्नु भयो । त्यस्तै तीन उमेर समुहका दाजुभाइहरुले बाजा बजाउनु भयो । धाः बाजाको प्रस्तुति पनि रह्यो । यो वर्ष हामीले इन्द्रजात्राको डकुमेन्ट्री पनि बनाउँदै छौ । जात्रा अवधि भरको प्रत्यक्ष प्रशारण पनि गर्दै छौ । जात्राको रथहरु कहाँ कहाँ पुगिरहेको छ जात्राहरु कहाँ कहाँ पुगेको छ भन्ने जानकारीका लागि गल्ली म्यापसँग मिलेर जात्राको ट्राय्किङ्ग सिस्टम पनि हामीले अस्ति पत्रकार सम्मेलनमा लन्च गरेका छौं । त्यो पनि उपलव्ध हुने नै छ यसले पनि सहज हुने नै छ । यो वर्ष ३ गते भक्तपुरबाट आउने महाकाली नाच, त्यसैगरि हल्चोकको सवभकु, पुलुकिसि, लाखे नाचलाई पुजा दिएर दमकल र वसन्तपुरको विचमा नचाउने र हामीले निमन्त्रणा गरेका पाहुनाहरु महानगरपालिका कार्यपालिकाको साथीहरु विभागिय प्रमुखज्यूहरु हामीले निमन्त्रणा गरेका अरु नगरपालिकाका प्रमुख उपप्रमुख अतिथिहरु विदेशी निकायका प्रतिनिधिहरुलाई हामी त्यहाँ नाच देखाउँछौ भने साँझ नेवाः भोज खुवाएर उहाँहरुलाई विदाइ गर्छौ ।
    इन्द्रजात्रामा अन्तराष्ट्रिय सहभागिता कस्तो हुन्छ ?
    यो वर्ष हामीले अन्तराष्ट्रिय मेयरहरु ल्याउन भन्नै पर्छ पाहुना बोलाइसकेपछि आदर सत्कार गर्नुपर्छ । हाम्रो प्रोटोकल अनुसार मेयर उपमेयर र मेरै कुरा गर्दा सम्पदाको संयोजकको नाताले हामी गद्दी बैठकमा बस्नुपर्ने हाम्रो राष्ट्र प्रमुख त्यहाँ हुने हामी त्यहाँ नरहँदा पनि म्यासेज अर्कै जाने र पाहुनाहरु सवैलाई त्यहाँ लान प्रोटोकलले नहुने गर्दा खेरि अलि अप्ठेरो छ । तर विदेशी पाहुनाहरु स्वतःस्फुर्त रुपमा हामी आउँछौ भन्नुभएको छ । उहाँहरुको लागि व्यवस्था गरेका छौ । विभिन्न देशहरुबाट पत्राचार हुने क्रम जारी छ । हिजोसम्म पनि पत्र आएको सचिवालयले जानकारी दिएको छ । सवैको लागि यो जात्रा हेर्नको लागि निम्ता दिँदै त्यस्को व्यवस्था गर्दैछौ ।
    पशुपतिमा इन्द्रजात्रा कसरी मनाइन्छ ?
    काठमाण्डौ महानगर पालिका एकदमै भाग्यमानि छ । ३२ वटा वडा भित्र चार चार वटा विश्वसम्पदा सुचिमा सूचिकृत सम्पदाहरु छन् । त्यसमा पनि म पशुपतिमा जन्मे हुर्केको मान्छे सम्पदामा म पनि विभिन्न जात्रामा सहभागी हुँदै आएको त्यसमा पनि सम्पदामा नै रुचि भएको मान्छे सम्पदाको संयोजक हुन पाएको छु । अहिले काठमाण्डौ महानगरपालिका भित्र नै देखेको भोगेको यहाँको समुदाय र पशुपतिको समुदाय फरक छ जस्तो लाग्दैन । हामीले भावनात्मक रुपमा हेर्ने हो भने त्यहाँ पनि इन्द्रजात्रा हुन्छ तर हनुमान ढोकाको जस्तो राष्ट्र प्रमुख नै आएर मनाएको जस्तो यहाँ इन्द्रजात्रा मनाइँदैन । देशैभर विभिन्न ठाउँमा इन्द्रजात्रा मनाइन्छ । तर मुख्य इन्द्रजात्रा चाहि वसन्तपुरमा नै हुन्छ किनकि त्यहाँ राष्ट्र प्रमुख नै सहभागि हुन्छ । संवैधानिक निकायका प्रमुखहरुको पनि सहभागिता हुन्छ । अन्यत्र भएका इन्द्रजात्रालाई पनि प्रचार प्रसार गरेर व्यवस्थित रुपमा लानु पर्छ । पशुपतिमा पनि भगवान इन्द्रको मुर्तिलाई रथमा राखेर अरु वेला हाम्रो जात्राको रुट छ । त्यहाँ बाजागाजा बजाएर शहर परिक्रमा गरिन्छ । यहाँ धेरै लामो जात्रा हुँदैन करिब ३ घण्टामात्र हुन्छ ।
    वर्तमान समयमा सम्पदाको मुख्य समस्या के हो ?
    काठमाडांैको सम्पदाको समस्या भनेको मुख्य रुपमा सम्पदा संरक्षण चुनौतिको रुपमा रहेको छ । यस्को निरन्तरता चुनौति पूर्ण रहेको छ । नयाँ बनाउनु भन्दा पनि हाम्रो पुर्खाले हामीलाई दिएर गएको कुरा जोगाउन चुनौति छ । यो आधुनिकरण तर्फ अगाडि बढेको छ । सम्पदालाई पाठयक्रममा नै राखेर पढाउनु पर्छ । युवाहरुले बुझदै गयो भने यसमा टेवा पुग्छ । नयाँ कुरा भन्दा पनि हामीसित भएको दुइवटा कुरा एउटा हामीसित अथाह प्राकृतिक श्रोत छ यसको उपभोग गर्नुभयो । यसलाई बढि प्रयोगमा ल्याउनु पर्यो । हामीसित पहाड छ हिमाल छ नदिनाला छ यसको उपयोग गर्नुपर्छ । अर्को अथाह सम्पदा छ सम्पदाहरुलाई सहि तरिकाले प्रचारप्रशार गर्नुपर्यो । हामीले विदेशको हेरेर विदेशको जस्तो नै हुनुपर्छ भन्ने छैन । विदेशीहरु यहाँ आएर हेर्ने वातावरण वनाएर प्रचारप्रसार गर्नुपर्यो ।
  • भिडियाे हेर्नका लागि यहाँ क्लिक गर्नुहाेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध