‘परम्परागत गुंला मार्गको प्रचारका लागि ताम्सिपाखा महोत्सव गर्न लागेका हौं’
आजबाट ताम्सिपाखा यूथ क्लबको आयोजनामा काठमाडौं मनपा १८ वडामा मौलिक गुंलाबाजा सडक महोत्सव ने.सं. ११४४ सुरु हुँदैछ । यस महोत्सवको सेरोफेरोमा रहेर कार्यक्रमका संयोजक एवम् क्लबका सचिव राजेन्द्र रजकसँग गरिएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ – सं. ।
- सडक महोत्सवको तयारी कस्तो भइरहेको छ ?
सडक महोत्सवको तयारी हामीले जनस्तरबाटै गरिरहेका छौं । स्थानीयबासिन्दाहरु र बौद्ध धर्ममा आस्था राख्नेहरुका तर्फबाट उहाँहरुले सक्दो सहयोग प्रदान गर्दै आउनु भएको छ । यो हाम्रो पहिलो प्रयास हो । यसको परिणाम कस्तो हुन्छ भन्ने हेर्न बाँकि नै छ ।
यो महोत्सव ताम्सिपाखा यूथ क्लबको आयोजनामा हुन लागेको हो । यस क्लबबाट हामीले स्थापनाकालदेखि नै विभिन्न प्रतियोगिताहरु तथा कार्यक्रमहरु गर्र्दै आएका छौं । दुई वर्ष अगाडि पनि हामीले ताम्सिपाखा खेलकूद महोत्सव भनेर ६ वटा खेलको प्रतियोगिता संचालन गरेका थियौं । यस वर्ष हामीले मौलिक गुंला बाजा सडक महोत्सव ने.सं. ११४४ भनेर शुद्ध धार्मिक, सांस्कृतिक गर्न लागेका छौं ।
यो महोत्सव १५ गतेसम्म ६ दिन चल्नेछ । खासमा गुंला भनेको एक महिनाको चाड हो । महोत्सवको अन्तिम दुई दिन १४ गते र १५ गतेका दिन प्रस्तुत गरिने गुंला बाजाबाट उत्कृष्ट तीन वटा टोली छानेर विशेष सम्मान गर्ने र सहभागी टोलीहरुलाई मायाको चिनो प्रदान गर्ने तयारी गरिरहेका छौं ।
- उत्कृष्ट टोलीहरुको चयन कसरी हुन्छ ?
हामीले तीन जनाको निर्णायक टोली चयन गरेका छौं । उहाँहरुको नाम हामी कार्यक्रमको अन्तिम दिन मात्र सार्वजनिक गर्नेछौं । उहाँहरुले प्रस्तुत गुंला बाजाहरु मध्येबाट प्रस्तुति, सुर ताल र प्रस्तुतिकरणका आधारमा उत्कृष्टको चयन गर्नुहुन्छ । यसमा हामीले पहिलो दोश्रो भनेर छुट्याउँदैनौं । शनिवार हुने समापन कार्यक्रममा उत्कृष्ट तीन भनेर समान किसिमको पुरस्कार वितरण गर्नेछौं ।
- मौलिक गुंलाबाजा सडक महोत्सवको आयोजना किन गर्नुभएको हो ?
गुंला मेला एक महिनाभर लाग्ने मेला हो । यस क्रममा मानिसहरु स्वयम्भूमा विशेष मेला भर्न जाने गर्दछन् । यस क्रममा काठमाडौं भित्री शहरका मानिसहरु ताम्सिपाखा हुँदै तपिंता–धिमे लोहं हुँदै स्वयम्भुको भगवानपाउमा रहेको ढुङ्गेधारामा मुख धोएर चोखो भएर स्वयम्भू भगवानको दर्शन गर्छन् भने त्यहाँबाट फर्किने बेलामा विजयेश्वरी हुँदै ताम्सिपाखा भएर जनबहालमा जनबहाःद्यःको दर्शन गरेपछि असनमा अन्नपूर्ण माताको दर्शन गरी इन्द्रचोक हुँदै हनुमानढोका पुगेपछि त्यहाँबाट आ–आफ्नो गन्तव्यतर्फ लाग्ने गर्दथे । तर अहिले समयको अभाव र बस्तीहरु विस्तारका कारणले यो परम्परागत मार्ग ओझेलमा परेको छ । पहिले पहिले कीर्तिपुर, साँखु, टोखा, नमोबुद्ध जस्ता ठाउँबाट स्वयम्भू दर्शन गर्न आउँदा पनि ताम्सिपाखा भएर नै जनबहाःद्यःको दर्शन गर्न जाने प्रचलन रहेकोमा अहिले यातायातको प्रयोग गरिन थालेपछि परम्परागत बाटो नै चिन्न छोडेको छ । यसैले गुंला पर्वको परम्परागत मार्गको प्रचार गर्नका लागि हामीले यो मौलिक गुंला पर्व सडक महोत्सवको आयोजना गर्न लागेका हौं ।
- महोत्सवमा के के समावेश हुन्छ ?
यो कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्न आउने महानुभावहरुलाई हामीले स्वागत गर्नेछौं । कार्यक्रमको दौरान यहाँ कसैले प्रस्ताव गरेको खण्डमा रक्तदान, स्वास्थ्य शिविर जस्ता कार्यक्रमहरु समेत संचालन गर्न दिनेछौं । यो कार्यक्रम विशुद्ध सामाजिक सेवाको लागि गरिएको कार्यक्रम भएको हुनाले जनस्तरबाटै काम हुनेछ ।
- यो कार्यक्रमको व्यवस्थापन कसरी भइरहेको छ ?
यो छोटो मिठो कार्यक्रम हो । गुंला अवधिभर यो बाटो भएर यात्रा गर्नेहरुलाई कार्यक्रममा सहभागी भइदिन अनुरोध गर्दछु । जनस्तरबाट, स्थानीय तहबाट के कस्तो सहयोग गर्न सकिन्छ सहयोग गरीदिन आग्रह गर्दछु ।
आजको मितिसम्ममा ८–९ वटा बाजा खलकहरुले शुक्रवार र शनिवारका दिन प्रस्तुतिकरण गर्ने भनेर हामीलाई सम्पर्क गर्नुभएको छ । स्वयम्भूमा गुंला बाजा आउनेहरु २९ वटा खलक छन् । उहाँहरुलाई हामीले सहभागिताको लागि अनुरोध गरेका छौं । हामीले कीर्तिपुर, बलम्बु, टोखाका धाः बाजा खलःहरुलाई पनि हामीले निमन्त्रणा गरेका छौं । अन्तिम दिनसम्ममा ३०–३५ वटा खलकको सहभागीता हुने विश्वास लिएका छौं ।
- वडाबाट तपाइँहरुको कार्यक्रमलाई कस्तो किसिमबाट सहयोग भइरहेको छ ?
वडास्तरमा कुरा गर्ने हो भने हाम्रो ताम्सिपाखा यूथ क्लबका अध्यक्ष हेमज्योति शाक्यज्यू नै कामपा १८ वडाका सदस्य हुनुहुन्छ । यसैगरी कामपा १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जनज्यू हाम्रो सल्लाहकार हुनुहुन्छ । तर यो कार्यक्रमको लागि हामीलाई वडाबाट कुनै किसिमको आर्थिक सहयोग प्राप्त भएको छैन । यो कार्यक्रमको लागि हामीले विशुद्ध रुपमा स्थानीयबासिन्दाहरु र बौद्ध धर्ममा आस्था राख्नेहरुबाट सहयोग संकलन गरेर कार्यक्रम अगाडि बढाइ रहेका छौं ।
राजनीति र सामाजिक दुई फरक पक्ष हुन् । वडा अध्यक्ष सल्लाहकार र वडा सदस्य अध्यक्ष भए पनि क्लब र वडाका बीचमा सहयोगको वातावरण बनेको छैन । यहाँ कहाँनिर पूल टुटेको छ त्यो थाहा पाउन सकिएको छैन । आजसम्म हामीले सहयोग मागेको पनि छैन । कसैले सहयोग गर्छु पनि भनेको छैन । सरकारी सहयोग लिन्छु भने पनि कार्यक्रम सकेपछि त्यो सहयोग रकम लिनका लागि धाउँदा धाउँदा नै दिन बित्छ ।
अहिले जनप्रतिनिधि भनिएको वडा अध्यक्षले स्थानीय क्लब, संघसंस्थाहरुको पीडा र समस्या बुझिरहेको छैन ।
- अन्तमा मेरो साप्ताहिकका पाठकहरुलाई केही भन्नु हुन्छ कि ?
यो एउटा विशुद्ध धार्मिक सामाजिक कार्यक्रम हो । गुंलाको पुरानो धार्मिक मार्गलाई सबैलाई चिनाउन दिनका लागि यो कार्यक्रमको आयोजना गरिएको हो । यस कार्यक्रमलाई सफल बनाउनका लागि सबैको तर्फबाट सहयोगको अपेक्षा गर्दछु । तपाइँहरुले तन मन धनले सहयोग गरीदिनु होला, सहभागी भइदिनु होला भन्ने अनुरोध गर्दछु ।










