स्पोर्ट्स अवार्डमा सम्मानित नेवाः खेलकर्मी
खेलकुद पत्रकारहरुको संस्था नेपाल खेलकद पत्रकार मञ्चले वर्षेनी भव्य समारोह गरेर वर्षभरी उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा अन्य खेलकर्मीलाई सम्मान गर्ने परम्परा छ ।
स्पोर्ट्स अवार्डको नाममा यसको परिचय बनेको छ । यसपालि स्पोर्ट्स अवार्डको २० औँ संस्करणमा पनि खेलाडी, प्रशिक्षक र खेलकर्मी सम्मानित भए । यसपटक स्पोर्ट्स अवार्डमा एथलेटिक्सको दबदबा रह्यो । धावक दिपक अधिकारी, सर्वश्रेष्ठ पुरुष खेलाडी, धाविका राजपुरा पछाई सर्वश्रेष्ठ महिला खेलाडी चुनिनुभयो । यसैगरी एथलेटिक्सका चन्द्र गुरुङ सर्वश्रेष्ठ प्रशिक्षक घोषित हुनुभयो । स्पेशल अवार्ड सुदर्शन रञ्जितलाई प्रदान गरियो ।
पिपल्स च्वाइस अवार्डको पुरस्कार टेबलटेनिसकी सिक्का सुवालले पाउनुभयो । भारोत्तोलनका राजेन्द्र प्रधानलाई लाइफटाइम एचिभेमन्ट अवार्ड र मैँया बिसँखुलाई पारा एथलेट्स अफ दि इयरले सम्मानित गरियो । यसैगरी हङकङका खेलकुद पत्रकार हङकङ रेमण्ड चुले एसियाली पत्रकार पुरस्कार पाउनुभयो । वर्षका उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस, युवा तथा प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्रदान गरियो । अन्य विधाका विजेताले ५० हजार रुपियाँसहित गिफ्ट ह्याम्पर पाए ।
यसरी यस वर्ष नौ विधामा खेलकर्मी सम्मानित भए । सो सम्मानित हुनेको सूचीमा तीन नेवाः खेलाडीहरुको पनि नाम छ । यसो त नेपाली खेलकुदमा नेवार खेलाडीहरुको योगदान नयाँ कुरा होइन । नेवाः बैकुण्ठ मानन्धर लगातार तीन पटक दक्षिण एसियाली खेलकुदअन्तर्गत म्याराथनमा स्वर्ण पदक जित्ने धावक हुनुहुन्छ । दक्षिण एसियाली म्याराथनमा उहाँले कायम गरेको कीर्तिमान अहिलेसम्म भङ्ग भएको छैन ।
एसियाली खेलकुदमा सबभन्दा पहिले रजत पदक जितेर इतिहास बनाउने सविता राजभण्डारी र छनोट चरण पार गरेर ओलम्पिक खेल्ने नेपालकी सबभन्दा पहिलो खेलाडी संगिना वैद्य पनि नेवार समुदायकै हुनुहुन्छ । यसैगरी नेवार खेलाडीहरुको प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा थुप्रै पदक जितेका छन् । यसपालिको स्पोर्ट्स वार्डमा पनि सिक्का सुवाल, राजेन्द्र प्रधान र सुदर्शन रञ्जितले स्पोर्ट्स अवार्डमा नेवारहरुको खेलकुदमा संलग्नता र क्षमता कायम नै रहेको देखायो ।
सिक्का सुवाल श्रेष्ठ (टेबलटेनिस)

टेबल टेनिसकी स्टार सिक्का सुवाल श्रेष्ठ २० औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस अवार्डकी एक प्रत्यासी हुनुहुन्थ्यो । स्पोर्ट्स अवार्डको सबभन्दा चर्चामा रहने यो विधामा फुटबलका अनन्त तामाङ, कराँतेका विप्लब श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठ पनि मनोनयनमा हुनुहुन्थ्यो । यी सबै नेपाली खेलकुदका एकसेएक लोकप्रिय खेलाडी हुन् । एक महिनासम्म चलेको भोटिङमा सिक्का यी चार खेलाडीलाई पछाडि पारेर आफू नेपालले सबभन्दा मनपराएकी खेलाडी बन्नुभयो ।
सिक्कालाई लाग्छ उहाँ खेलाडी बन्नकै लागि जन्मनुभएको हो । सिक्काले सुरुमा बास्केटबल खेल्नुभयो पछि टेबल टेनिसमा मोडिनुभयो । अहिले त्यसमै अडिग हुनुहुन्छ । टेबल टेनिस निकै तीव्र गतिमा खेलिन्छ, सिक्कालाई मन परेको त्यही हो । अहिले उहाँ टेबल टेनिसकी राष्ट्रिय खेलाडी मात्र होइन प्रशिक्षक समेत हुनुहुन्छ । त्यसैले सिक्का नेपाली टेबल टेनिसकी वर्तमान र भविष्य दुवै हुनुहुन्छ । त्यस अर्थमा उहाँको दिनचर्चा भन्नु नै टेबल टेनिस र टेबल टेनिस मात्र हुने गर्छ ।
उहाँले पछिल्लो समय राष्ट्रिय च्याम्पियनसिपमा डबल्सतर्फ स्वर्ण पदक जित्नुभयो । नवौं राष्ट्रिय खेलकुदको टिम इभेन्ट्समा रजत र महिला एकलमा कांस्य पदक हात पार्नुभयो । उहाँ स्ट्याग ग्लेबल च्याम्पियनन्स लिगका विजेता नै हुनुहुन्छ । त्यसैले उहाँले चीनको हाङचाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाउनुभयो । त्यसपछि उहाँले दक्षिण कोरियामा भएको एसियन च्याम्पियनसपमा पनि सहभागिता जनाउनुभयो । जुन पछिल्लो वर्ष सिक्काले हासिल गरेका उपलब्धिहरु हुन् ।
राजेन्द्र प्रधान (लाइफटाइम एचिभमेन्ट अवार्ड)

पाँच दशक भारोत्तोलनमा बिताएका ६९ वर्षीय राजेन्द्र कुमार प्रधान नेपालकै पहिलो ओलम्पियनमध्ये एक हुनुहुन्छ । प्रधान बोल्न सक्नुहुन्न, सुन्न सक्नुहुन्न तर पनि नेपाली खेलकुद क्षेत्रको अहिलेसम्मकै एक भिन्न उदाहरण बनेर भारोत्तोलनका गुरु बा बन्नुभएको छ १७ वर्षको उमेरमा ‘मिस्टर काठमान्डू’ अनि पावर लिफ्टिङमा ‘स्ट्रङगेस्ट म्यान अफ काठमान्डू’ उपाधि जितेपछि खेल क्षेत्रमा प्रधानको प्रवेश भएको हो ।
त्यसबेला खेलकुद परिषदको पौडी पोखरीमा लाइफ गार्डको जागिर खाने अनि परिषदको हलमा जिम गर्ने उहाँको दिनचर्या थियो । २०३६ सालमा उनी नेपालको पहिलो भारोत्तोलन च्याम्पियन बन्नुभयो । दुई वर्ष पछिको मस्को ओलम्पिक खेल्दै नेपालको पहिलो ओलम्पिक भारोत्तोलन खेलाडीको गौरव हासिल गर्नुभयो । खेल जीवनपछि प्रशिक्षक बन्नुभयो । छक्क लाग्न सक्छ आवाज नभएको ब्यक्तिले कसरी प्रशिक्षण दिन्छ होला । तर उहाँ नेपालको अब्बल दर्जाका प्रशिक्षक मात्र होइन अन्तर्राष्ट्रिय रेफ्री पनि हुनुहुन्छ ।
उनी सन् १९९० को बेइजिङ एसियाली खेलकुद, काठमाडौंमा भएको आठौं एसियाली खेलकुद र श्रीलंकामा भएको दशौँ एसियाली खेलकुदमा प्रशिक्षक हुनुहुन्छ । यद्यपि आवाज नभएकै कारण धेरै अवसरहरुबाट प्रधान वञ्चित पनि हुनुपरेको छ । रिटायर्ड लाइफमा अहिले पनि उहाँलाई रंगशालनको भारोत्तोलन हलमा चक्कर नकाटे चित्त बुझ्दैन । नेपाल भारोत्तोलन संघमा उनी केन्द्रिय सदस्यको सम्मान दिएको छ ।
स्पेसल अवार्ड ः सुदर्सन रञ्जित

नेपालमा यस्ता थुप्रै ब्यक्तिहरु छन् जसमा खेलकुद मोह बेजोड छ र भित्रि मनदेखि नै खेल क्षेत्रको भलो गर्न अग्रसर हुने जाँगर पनि । पोखराका ६० वर्षीय सुदर्शन रञ्जित त्यस्तै एक उदाहरण हुनुहुन्छ ।
उहाँ पोखराका खेल फोटो पत्रकार हुनुहुन्छ । तर उहाँको परिचय यतिमै सीमित छैन । नेपाली खेल क्षेत्रमा उहाँ खेलकुदका एक सिपाही अनि पोखरेली खेलकुदका अभियन्ता भनेर पनि चिनिइन्छ ।
चार दशकदेखि रञ्जितले पोखरामा हुने खेल गतिविधिका प्राय सबै तस्विर आफ्नाे क्यामरामा कैद गर्नुभएको छ ।
माछापुच्छ्रेलाई आवरणमा एक बालकले क्रिकेट खेल्दै गर्दा उनले क्लिक गरेको एक तस्विरले सन् २००८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषदको ‘वर्षको उत्कृष्ट तस्विर’को अवार्ड नै जितेको थियो । उहाँ पोखरा रंगशाला जोगाउन पर्खालले घेर्ने अभियानमा होस्, रंगशालालाई गौचरण बन्न वा ड्राइभिङ सेन्टर बन्न नदिन । उहाँले गरेको स–साना लाग्ने खवरदारीले ठूलो राम्रो परिणाम दिएको देख्न सकिन्छ ।
खेलकुदमा यसरी हस्याँङ फस्याङ गरेर चार दशक वढी बिताइसकेकोले पनि रञ्चितलाई यसपालि स्पेशल अवार्डले सम्मानित गरिएको थियो ।








