नेवाः पत्रकार राष्ट्रिय दबुले छ जना पत्रकारलाई सम्मान गर्ने

नेवार पत्रकारहरुको राष्ट्रिय संस्था नेवाः पत्रकार राष्ट्रिय दबुले छ जना नेपालभाषाका पत्रकारहरुलाई नगदसहित पुरस्कृत  गर्ने भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबुले हरेक वर्ष आफ्नो साधारण सभामा पत्रकारहरुलाई पुरस्कृत गर्दै आएकाे छ ।

दबूकाे १२ औँ साधारण सभामा माउन्टेन टेलिभिजनका विश्वन्तर शाक्यलाई ज्ञानज्योति–लक्ष्मीप्रभा पत्रकारिता पुरस्कार, झंकार एफएम रामेछापका युवराज श्रेष्ठलाई ज्ञानदेवी–मणि पत्रकारिता पुरस्कार, मेट्रो एफएमका उदेन न्हूसायमिलाई भिक्षु कुमार कश्यप स्मृति पत्रकारिता पुरस्कार, अनलाइन खबरकी रेणु त्वानाबासुलाई श्रीराम स्मृति पत्रकारिता पुरस्कार, अनलाइन डबलीका बुद्धशरण शाहीलाई बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार र नेपाल मण्डल टेलिभिजनकी सिल्भिया राजोपाध्यायलाई वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

ज्ञानज्योति–लक्ष्मीप्रभा पत्रकारिता पुरस्कारको राशि २० हजार, ज्ञानदेवी–मणि पत्रकािरता पुरस्कारको राशि १५ हजार, भिक्षु कुमार कश्यप स्मृति पत्रकारिता पुरस्कारको राशि १२ हजार रुपियाँ रहेको छ । यसैगरी श्रीराम स्मृति पत्रकािरता पुरस्कार, बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार र वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कारका विजेताले जनही दस हजार रुपियाँ प्राप्त गर्नेछन् ।

पुरस्कार शनिबार नेवाः पत्रकार राष्ट्रिय दबुको साधारण सभामा प्रदान गरिनेछ ।

नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनको संयोजकत्वमा सुरेन्द्रभक्त श्रेष्ठ, केके मानन्धर, प्रजित शाक्य र तेजनारायण महर्जन सम्मिलित पुुरस्कार चयन समितिले पुरस्कार विजेताहरुको चयन गरेको हो । संयोजक महर्जनले पत्रकारिताको माध्यमबाट नेपाल भाषा, संस्कृति, सम्पदाको प्रवद्र्धन र संरक्षणका साथै समावेशी क्षेत्रमा योगदान दिने, नेवाः पत्रकार राष्ट्रिय दबूको समग्र अभियानमा टेवा पुर्याउनेलगायतका मापदण्डलाई तोकेर पुरस्कार विजेताको छनोट गरिएको जानकारी दिनुभयो ।

यसैगरी नेवाः पत्रकार राष्ट्रिय दबूकाे साधारण सभामा नेपाल भाषा, संस्कृति प्रवद्र्धन तथा सञ्चार क्षेत्रमा समावेशीकरण मुद्दामा उल्लेखनीय योगदान दिनुहुने गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्य, गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार उपेश महर्जन र आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज)का पूर्व अध्यक्ष दण्ड गुरुङलाई विशेष सम्मान गर्ने जानकारी प्राप्त भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध