‘ज्यापु दिवसलाई सबैले अपनाउन अनुरोध छ’

हरेक वर्ष थिंलाथ्व (मंसिर शुक्ल) पूर्णिमाको दिन ज्यापु संस्कृति विकास कोषको आयोजनामा राष्ट्रिय ज्यापु दिवस मनाइने गरिँदै आएको छ । काठमाडौंका परम्परागत टोलहरु मध्ये एउटा टोललाई संयोजनको अभिभारा दिएर मनाइने यस दिवसका लागि यस पटक त्यंगः त्वाः खलःलाई संयोजक टोकिएको छ । उक्त खलःका अध्यक्ष एवम् समारोहका संयोजक धनबहादुर महर्जन “तिमिला”सँग मेरो साप्ताहिकका लागि सुनिता महर्जनले दिवसको तयारीका सन्दर्भमा गर्नुभएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ – सं. ।
तपाईले यसपालिको ज्यापु संस्कृति विकास कोषको आयोजनमा हुने ज्यापु दिवस २०८० को संयोजन त्यंगल टोलबाट गर्नुभएको छ । यस कार्यक्रममा के कस्ता कार्य गर्दै हुनुहुन्छ ?
ज्यापु संस्कृति बिकास कोषको आयोजनामा त्यंगल टोलको संयोजनमा २० औ ज्यापु दिवस पुष १० गते आयोजना हुन गइरहेको छ । यस टोलले संयोजनको अभिभारा लिए देखि विभिन्न कार्यक्रमहरुको आयोजना गरिसकेका छौ । अहिले सम्ममा ज्यापु दिवसलाई लक्ष्य गरि रक्तदान, महिला भेला साइकल ¥याली गरि सकेका छौं ।
यी त भए तपाईले गरिसकेको काम अव अगाडि के कस्ता कार्य गर्दै हुनुहुन्छ ?
योमरि पुन्हि आउन अब धेरैदिन बाँकि छैन तर पनि हामीले ६३ टोलकै महिला दिदिबहिनिको सहभागितामा सुकुन्दा ¥याली आयोजना गर्दै प्रचारको लागि गर्न लागिरहेको छौ । जसमा हामीले त्यंगल टोलबाट शुरुगरि माथिल्लो भेग र तल्लो भेगमा परिक्रममा गर्ने लक्ष्य रहेको छ । १० गते चाहि मुल कार्यक्रम गर्ने त भइहाल्यो ।
योमरी पुन्हिको दिनमा मनाउने ज्यापु दिवस ज्यापुहरुले मात्र मनाउने गरिन्छ कि गैर ज्यापुहरुले पनि मनाउने गरिन्छ ?
महत्वपूर्ण विषय नै यहि छ । जहिलेदेखि ज्यापु दिवस मनाउन शुरु गरेको छ त्यहि दिनदेखि ज्यापु दिवस किन मनाइएको नेवाः दिवस किन मनाइएन भन्ने थुप्रै प्रश्न उठिरहेको छ । अरु दिन केहि चर्चा नभएपनि ज्यापु दिवस आउने समयमा चाहि यस्को चर्चा हुने गरेको पाइन्छ । योमरी पुन्हि नेवाः समुदायको महत्वपूर्ण दिन हो यस दिन सवै नेवाःहरुको घरघरमा योमरि पकाइ भकारिमा पुजा गरि खाने चलन छ । अहिले पनि भकारि नभए पनि चामलको भाँडोमा राखि पुजा गरि खाने चलन रहेको छ । यहि दिनमा ज्यापु दिवस मनाउने गरिन्छ अरु दिन किन गरेन भनेर पनि प्रश्न उठिरहेको छ । योमरि पुन्हिमा यो दिवस मान्न हुने पाहाँचह«ेमा मान्न नहुने होइन यो दिवस योमरि पुन्हिको दिनमा पारेको मात्र हो । अरु दिन मनाए पनि खासै फरक पर्दैन तर योमरि पुन्हि खास गरि कृषि सित सम्वन्धित छ । अरु चाडपर्वहरु जुन नेवाः समुदायले मनाउने गरिरहेको छ त्यो पनि प्राय जसो कृषिमा सम्वन्धित छ । त्यसमाथि पनि योमरि पुन्हिको दिनमा ज्यापु दिवस मनाउने सम्वन्ध त छँदैछ ।
योमरि पुन्हि विशेष कुनै व्यक्ति विशेष होइन । यसमा ज्यापुहरुले आयोजना मात्र गरेको हो यसमा सम्पूर्ण नेवाः समुदाय मात्र होइन गैर नेवाः समुदाय पनि सहभागि हुन सकिन्छ । जसमा जनजातिहरुलाई पनि स्वागत गर्न आतुर छौ ।
ज्यापु संस्कृति विकास कोषको आयोजनामा त्यंगल टोलको संयोजनमा हुने यसपालिको ज्यापु दिवसमा पुरस्कार वितरण गर्ने पनि योजना छ । यस पुरस्कारमा ज्यापु समुदायलाई मात्र लक्षित गरेको छ कि अरु समुदायलाई पनि समावेश गरिने छ ?
ज्यापु दिवस ज्यापुहरुले मनाउँदै गरिरहँदा हामीले अरुलाई पनि यस पुरस्कार वितरणमा सहभागि गराई उदारपन देखाउन कोशिस गरिरहेका छौ । ज्यापु समुदायका विभिन्न क्षेत्रमा योगदान दिनेलाई पुरस्कार दिने त छँदैछ । हामीले गैर नेवाः समुदायकाहरुलाई पनि विशेष सम्मान गरि समेत्ने प्रयास गरिरहेका छौं ।
ज्यापु दिवसमा सम्माननिय प्रधानमन्त्रिको रोहवरमा कार्यक्रम संचालन गर्नुहुन्छ । उहाँको सहभागिताले मात्र यो कार्यक्रम राष्ट्रिय स्तरको भएको हो ?
खासै भन्ने हो भने सम्माननिय प्रधानमन्त्रिको सहभागिताले मात्रले यो दिवस राष्ट्रिय स्तरको भएको भने पक्कै होइन । यस दिन सवैलाई विदा छ अर्को कुरा यसै दिन उभौलि पर्व पनि पर्न जान्छ । हुनत यस कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रिले सहभागिता देखाउँदै आइरहनु भएको छ । ज्यापु दिवस कृषिसँग सम्बन्धित रहेको मैले अगाडि पनि भनीसकेको छु । नेपाल कृषि प्रधान देश र राजधानीमा कृषि पेशा गर्ने प्रमुख समुदाय ज्यापु भएका कारणले यो दिवस महत्वपूर्ण छ । त्यसमा पनि ज्यापु जातिले उपत्यकाको संस्कृतिलाई जीवन्त बनाउनका लागि सदियौंदेखि योगदान दिँदै आएको कदर स्वरुप यसलाई २०६५ सालमा राष्ट्रिय मान्यता दिइएको हो ।
यसपालि त्यगंल टोलले ज्यापु दिवस संयोजन गर्दैगर्दा तपाईको अनुभव कस्तो रह्यो ?
यो पनि अति महत्वपूर्ण कुरा सोध्नु भयो । हुनत म त्यंगल टोलको अध्यक्ष मात्र नभई ज्यापु संस्कृति विकास कोषको सचिव पनि हो । यसपालि हाम्रो टोलले संयोजन गरिरहदा र पहिला संयोजन गरेको टोलमा हामी गई उहाँहरुले संचालन गरेको विभिन्न कार्यक्रममा सहभागि हुँदा र अहिले आफैले संयोजन गरिरहदा एक किसिमको छुट्टै अनुभव भइरहेको छ । यस ज्यापु दिवसमा संचालन हुने कार्यक्रममा आफ्नो ठाउँको महत्व अरुलाई देखाउन पाउने । यहाँ भएका व्यक्तिहरुको योगदान अरु माझ प्रस्तुत गर्न सकिने । विशेष योगदान गरिकन पनि छाँयामा परेको व्यक्तिहरुलाई प्रकाशमा ल्याउन सहयोग गर्न सकिने । साथै टोलमा भएको विशेष संस्कृति अरु माझ बाँड्न सकिने भएकोले अरु खुशि लागेको छ । ज्यापु दिवस हाम्रो टोलले संयोजन गर्न पाउँदा म लगायत यस टोलका सम्पूर्ण बासिहरु अत्यन्ते खुशि भएको अनुभुति पाएका छौ ।
यसपालिको ज्यापु दिवस संयोजन गरिरहनु हुँदा तपाईलाई तपाईको टोलबासिहरुले कतिको समर्थन गरिरहेका अथवा सहयोग गरिरहनु भएको छ ?
यसपालि त्यंगल टोललाई संयोजनको जिम्मा दिइसके पछि हामीले टोलमा भेला गराई छलफल गरेका थियौं । सबैले हर्षित भइ स्वागत गरको छ । साथै सवैले सक्रिय रुपमा समर्थन गर्दै सहभागिता जनाउँदै आएको छ ।
यसपालि हाम्रो टोलले संयोजन गरिरहँदा यो ज्यापु दिवस ज्यापुको मात्र होइन सबैको हो भन्ने सन्देश दिने प्रयत्न गरिरहेका छौ । यसपालि आदिवासी जनजातिको एक महत्वपूर्ण समुदाय तमाङ्ग समुदायलाई पनि सहभागि हुन अनुरोध गरेका छौ उहाँहरुले सहर्ष स्वीकार गर्नुभएको छ । यसले अािदवासी समुदायमा एक अर्कोको संस्कृति अवलोकन गर्ने अवसर मिल्ने छ । साथै एकको अर्कोमा सहभागि भएपछि संस्कृतिमा माया बढ्ने पनि आशा लिएका छौ । साथै हाम्रो त्यंगल टोलका छिमेकी वडाहरुलाई पनि सहभागिको लागि अनुरोध गरेका छौं साथै यसटोलमा रहेका अरु गैर नेवाः समुदाय जस्तै खड्गी समुदायलाई नया्खि लिइ सहभागि हुन त्यस्तै तुलाधर समुदायलाई धाः लिइ सहभागि हुन अनुरोध गरेकोमा उहाँहरुले सहर्ष स्वीकार गरि सहाभागि हुने विश्वास दिनुभएको छ ।
तपाईलाई धन्यवाद दिदै अन्तमा तपाइँका केही कुरा भएमा राख्नुहुन अनुरोध गर्दछु ।
लगभग सवैकुरा मैले भनिसकेको जस्तो छ तैपनि मेरो मनमा लागेको कुरा के छ भने ज्यापु दिवस किन भयो नेवाःदिवस किन भएन भन्ने प्रश्न जुन उठिरहेको छ त्यसमा मेरो भनाई के छ भने ज्यापु दिवस भनेकै सम्पूर्ण नेवाः समुदायको दिवस हो । हामीले जुन पहिला ज्यापु लं अर्थात लुगा भनिरहेको अहिले सवै नेवाः समुदाय नेपाल भित्र रहेका नेपाल भन्दा बाहिर रहेका सवैले अपनाइ कार्यक्रममा लगाई नेवाः समुदायको प्रतिनिधित्व गरिहेको छ । त्यसै गरि धिमे बाजा पहिला यसलाई ज्यापुहरुको बाजा भन्ने गरेकोमा अहिले नेपाल भित्रका मेचिमहाकालिदेखि अन्तराष्ट्रियमा बस्ने नेवाः समुदायले आफ्नो पहिचानको रुपमा प्रयोग गर्दै आइरहेको छ भने ज्यापु दिवसलाई पनि सम्पूर्ण नेवाः समुदायले अपनाउनु अनुरोध गर्दछु । साथै एक समुदायले गरेको काममा अर्को समुदायले ह मा ह मिलाएर गएमा समुदाएका मात्र नभइ देश विकासमा पनि टेवा पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध