नेवाः अध्ययन अनुसन्धान प्रतिष्ठानको औचित्य
संसार भरका नेवाः समुदायबीच सहकार्य र समन्वय गर्ने हेतुले स्थापना भएको हलिं नेवाः दबू खुशिको कुरा हो । हामीले नेपालमा हलिं नेवाः दिवस मनाइरहेका छौं । नेपालबाट गएर विदेशमा बसेका नेवाः समुदायहरुले पनि यसलाई मनाइरहेको छ । त्यहि भएर हलिं नेवाः दिवस मात्र नभइ नेपाल दिवस नै भएको अनुभूति भएको छ । ‘नेवाः समुदायको सभ्यता, इतिहास र सांस्कृतिक अनुसन्धान गर्न एक अनुसन्धान समिति वा अरु प्रतिष्ठान बनाउन जरुरीभएको छ भन्ने कुरा अध्यक्षबाट कुरा आएकोले मेरो ध्यान गम्भीर रुपमा आकर्षित भएको छ । मैले नेवाः समुदायको सभ्यता, संस्कृति, इतिहास, भाषा, साहित्य र कलाका लागि नेवाः समुदायले अनवरत संघर्ष गरेकोमा मेरो उच्च सम्मान छ । त्यहि भएर मैले एउटा अनुसन्धान प्रतिष्ठान बनाउन तपाइहरु समक्ष प्रतिवद्धता जाहेर गर्दैछु । सो प्रतिष्ठान नेवाः समुदायको मात्र नभइ सबै नेपालिहरुको हुने विश्वास पनि गरेको छु ।’
यो छैठो हलिं नेवाः दिवसको उपलक्ष्यमा ऐतिहासिक ठाउँ बसन्तपुर डबलिमा भएको ऐतिहासिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा आउनु भएका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको अभिव्यक्ति हो । पहिला देखि नै हामीले भाषा, कला, संस्कृतिको लागि एक अनुसन्धान केन्द्रको परिकल्पना गरिरहेको हो भने छैठो हलिं नेवाः दिवसको अवसरमा उहाँले दिनुभएको प्रतिवद्धताप्रति हामी सवै नेवाः समुदायले गर्व गर्नुपर्छ । अब सवै नेवाः समुदाय एकै ठाउँमा बसी छलफल गरी एक अनुसन्धान केन्द्र बनाउन अगाडि सर्ने बेला भएको छ । चाँडै नै यो केन्द्र बनाउने आवश्यकतालाई मध्यनजर गर्दै विज्ञहरुविच छलफल गरि कार्य समिति बनाउनु पर्ने देखिन्छ । प्रधानमन्त्रीलाई चाँडै भेटेर अनुसन्धान केन्द्र बनाउन पहल गर्नुपर्ने देखिन्छ ।
हलिं नेवाः दबू सन् २०११मा स्थापना भएको हो । डा. बालगोपाल श्रेष्ठको नेतृत्वमा लण्डनको पहिलो अधिवेशन सम्पन्न भएको र सन् २०१६मा दास्रो अधिवेशन बाल्टिमोरमा र २०१९मा तेस्रो अधिवेशन नेपालमा भएको हो । सो अधिवेशन बाट सिजन श्रेष्ठलाई अध्यक्षको रुपमा चयन गरेको हो । सन् २०२२मा अमेरिकाको न्यूयोर्कमा भएको चौथो अधिवेशनबाट संयुक्त श्रेष्ठलाई अध्यक्षको रुपमा चयन गरेको हो । त्यसै गरि सन् २०११मा नेपालमा हलिं नेवाः दबू नेपाल च्याप्टर स्थापना गरी पहिलो अधिवेशनबाट नरेन्द्रभक्त हाडालाई नेपाल च्याप्टरको अध्यक्ष चयन गरेको हो । साथै, २०१६मा दोस्रो अधिवेशनबाट पुष्कर माथेमालाई र तेस्रो अधिवेशनबाट शाक्य सुरेन र २०२२मा म सुरेन्द्र श्रेष्ठलाई अध्यक्ष पदमा चयन गरेको हो ।
हलिं नेवाः दिवस मनाउन भने सन् २०१८ बाट मात्र शुरु भएको छ । सन् २०१६ मा अध्यक्ष सिजन श्रेष्ठले ‘हलिमय् न्ह्याथाय् च्वंसां झी नेवाः’ (संसारमा जहाँ बसे पनि हामी नेवार) भनी नेवाः दिवसको परिकल्पना गर्नुभएको थियो । उसो भए पनि २०१८ मा नेपालमा दुई दिने ग्लोबल कन्फरेन्स गरी पहिलो हलिं नेवाः दिवसको सुरुवात गरेको हो । पहिलो हलिं नेवाः दिवस र ग्लोबल कन्फरेन्सको संयोजकको रुपमा तत्कालीन केन्द्रीय उपाध्यक्ष दयारत्न शाक्य रहनु भएको हो । त्यसै गरी दोस्रो हलिं नेवाः दिवसले २०१९ मा नेपालमा नै मनाएको थियो । तेस्रो हलिं नेवाः दिवस काठमाण्डौ महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यबाट उद्घाटन गराई भब्य र सभ्य रुपमा सम्पन्न भएको हो भने दोस्रो र तेस्रो पनि नेपालमा भएको हो । साथै सो कार्यक्रमको संयोजकमा रश्मिला प्रजापति र मलाई नियुक्ति गरेको हो ।
२०२० मा सम्पन्न गर्नुपर्ने तेस्रो हलिं नेवाः दिवस ‘कोभिड महामारी’ का कारण स्थगित भएको थियो भने सन् २०२१ मा मात्र आएर ऐतिहासिक ठाउँ बसन्तपुरमा सम्पन्न गर्न मैले नै जिम्मा लिएको हो भने सो कार्यक्रमको उद्घाटन तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गर्नुभएको थियो । सन् २०२२मा पाँचौ हलिं नेवाः दिवस नहेन्द्र प्रधानको संयोजनमा मरुहिति ब्यांक्वेटमा सम्पन्न भएको थियो ।
यसै गरी यसवर्ष छैठो हलिं नेवाः दिवस मनाउन नेपाल च्याप्टरका उपाध्यक्ष रमेशमान मुनिकारको संयोजकत्वमा बसन्तपुरमा एक भव्य समारोहका बीच सम्पन्न भएको छ । सोहि समारोहमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा योगदान दिनुहुने १४ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मानित हुने व्यक्तित्वहरुमा प्रधानन्यायाधीस कल्याण श्रेष्ठ, पूर्व सशस्त्र प्रहरी बलका महानीरिक्षक सिंह बहादुर श्रेष्ठ, नेपाली चलचित्र जगतमा नेपाली पहिलो नायिका ‘आमा’ का आमा चैत्यदेवी सिंह, समाजसेवी सुवर्णकेशरी चित्रकार, वरिष्ठ संस्कृति एवम् इतिहासविद् डा. त्रिरत्न मानन्धर, वरिष्ठ हस्तकला कलाकार चिनकाजी ताम्रकार, वरिष्ठ उद्योगपतिका साथै व्यवसायी रुपज्योती कसाः, वरिष्ठ फोटो पत्रकार नातिकाजी महर्जन, वरिष्ठ गणितज्ञ ज्योतिष देवनारायण महर्जन, वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य, वरिष्ठ साहित्यकार मथुरा साय्मि, वरिष्ठ कुटनितिज्ञ एवम् शिक्षाविद् केदारभक्त माथेमा, अन्तर्राष्ट्रिय रेसलिङ खेलाडि मुना श्रेष्ठ (लेडी ड्रागन) र संस्थागत तर्फ कास्की नेवाः खलःलाई सम्मान गरेका थिए । त्यसै गरी पन्ध्र हजार नगद सहित तेस्रो रमेश ताम्राकार लुमन्ति सिरपाः चर्चित गायक प्रवेशमान शाक्यका साथै जनकबि दुर्गालाल श्रेष्ठलाई हलिं नेवाः दबू केन्द्रबाट ‘हलिं नेवाः अभिनन्दन’ सम्मानबाट सम्मानित गरिएको थियो भने उहाँले लेख्नु भएको पुस्तक ‘चिनियाम्ह किसिचा’ बाट कविता वाचन गर्ने १६वटा स्कूलका २२ जना विद्यार्थीलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
छैठो हलिं नेवाः दिवसको उपलब्धी भनेको नेवाः अध्ययन अनुसन्धान प्रतिष्ठान बनाउनको निंतिं प्रधानमन्त्रीबाट आएको प्रतिवद्धताले महत्वपूर्ण ठाउँ ओगेटेको छ । यसको साथै कार्यक्रममा प्रधानमन्त्रीलाई ४ बुँदे माग पनि प्रस्तुत गरेका छौ । जुन यस प्रकार छ ः
१. नेपालबाट विदेशिएका गैर आवसीय नेपालीलाई मातृभूमि नेपालमा आउने बेलामा केहि समस्या नहुने गरी खान, वस्न नेवाः कम्यूनिटी सेन्टर (घर) बनाउन नेपाल सरकारबाट पहल गर्नुपर्ने ।
२. हलिं नेवाः दबू प्रभावकारी रुपबाट अगाडि बढाउन २ करोडको कोष स्थापना गर्न सरकारबाट पहल गरिदिनु पर्ने ।
३. वर्षेनि मार्च महिनाको अन्तिम शनिवार मनाइआएको ‘हलिं नेवाः दिवस’ नेपाल सरकारबाट प्रकाशित हुने क्यालेन्डरमा समावेश गर्नुपर्ने ।
४. नेवाः संस्कृति, कला र वास्तुकलाको अध्ययन र अनुसन्धानका लागि एक संस्था अपरिहार्य हुनुपर्ने आवश्यक छ । त्यहि भएर हलिं नेवाः दबूको प्रतिनिधित्व गरी ‘नेवाः संस्कृति कला र बास्तुकला अध्ययन केन्द्र’ स्थापनाका लागिं उचित पहल गर्ने ।
यस चार बुँदे माग पुरा भयो भने समग्र नेवाः समुदायलाई हित हुने हो । त्यहि भएर यस माग हलिं नेवाः दबू नामको संस्थाको मात्र नभइ संसार भरमा वस्ने नेवार समुदायको हो भनि हामीले बुझ्नु पर्छ । चार वटा माग मध्ये अध्ययन, अनुसन्धान प्रतिष्ठान स्थापना गर्न प्रधानमन्त्रीबाट प्रतिवद्धता त आयो । तर त्यस्को कार्यन्वयन गर्न हामी अघि सर्नुपर्छ । साथै अरु माग पुरा गर्न पनि हामी सबै एकजुत हुन आवश्यकता छ ।
(लेखक हलिं नेवाः दबू नेपाः देय् मूकवःका अध्यक्ष हुनुहुन्छ ।)








