पासा पुचः यूकेका अध्यक्ष ओजेश सिंह सम्मानित

इङ्गल्याण्डमा बसोवास गर्दै आएका नेवारहरुको संस्था पासा पुचः गुथि यू.के.को अध्यक्ष ओजेश सिंहलाई सोमवार एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
ज्यापु महागुथि नेपाःको आयोजनामा भएको सो कार्यक्रममा उहाँले विश्वमा नेपालभाषा, संस्कृति, सभ्यताको प्रचार तथा प्रसार गर्ने कार्यमा पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको महागुथिले जनाएको छ ।
पूर्वमन्त्री एवम् ज्यापु महागुथि नेपाःका सल्लाहकार तीर्थराम डंगोलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै पूर्वमन्त्री डंगोलले नेवार भाषा, कला, संस्कृतिमा महिलालाई प्रमुख स्थान दिइएको र सो कुरा जन्मदेखि मृत्युसम्म गरिने विभिन्न संस्कारमा स्पष्ट झल्किएको बताउनु भयो ।
कार्यक्रममा सम्मानित हुनुभएका पासा पुचः गुथिका अध्यक्ष सिंहले आफू नेपालबाट बाहिर गएपछि मात्र मातृभाषाको महत्वको बारेमा ज्ञान प्राप्त भएको बताउनु हुँदै मातृभाषाको संरक्षणमा सरकारको प्रमुख भूमिका रहनु पर्नेमा नेपाल सरकारकै गलत नीतिका कारण नेपालका मातृभाषाहरु दिनानुदिन लोपोन्मुख हुँदै गएको बताउनु भयो ।
यस्तै उहाँले नेवार संस्कृति तथा संस्कारको बारेमा आफूले अध्ययन गरिरहेको बताउनु हुँदै नेवार संस्कारहरुको विशेषता तथा तिनको महत्वका बारेमा भावी पुस्तालाई वैज्ञानिकरुपमा बुझाउन नसकिने हो भने भोलिका दिनमा यसको संरक्षण गर्न नसकिने र प्रत्येक संस्कार वा कृयाको पछाडिको वैज्ञानिक तथा सामाजिक कारण उल्लेख गर्दै पुस्तक नै प्रकाशित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
ज्यापु महागुथि नेपाःका विभिन्न शाखाका प्रतिनिधिमूलक सहभागिता रहेको सो कार्यक्रममा येँ महानगर समितिका अध्यक्ष पञ्चनारायण महर्जन, उपाध्यक्ष कृष्णनारायण महर्जन, कीर्तिपुर नगर समितिका सल्लाहकार दुर्गमान सिंह, उपाध्यक्ष सरलगोपाल महर्जन, ललितपुर जिल्ला समितिका अध्यक्ष रघुनाथ महर्जन, केन्द्रीय संरक्षक राजभाइ ज्यापु, सल्लाहकार डा. पंचनारायण महर्जन, केन्द्रीय सदस्यहरु पन्नारत्न महर्जन, जुजुभाइ डंगोल, येँ महानगर समितिका पूर्व सचिवद्वय हिराकाजी महर्जन तथा ई. सानुबाबु महर्जन, रमेशमान मुनिकार, रेणुका बासुकला, राधेश्याम महर्जन लगायतको उपस्थिति रहेको थियो ।
महागुथिका अध्यक्ष लोककवि राजभाइ जकःमिको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ज्यापु जातिको युवा पुस्ता विश्वभर फैलिएर यहाँको संस्कृति तथा संस्कारलाई जसरी फैलाउने कार्य गरीरहेको छ, त्यसको कदर हामी नेपालमा बस्नेहरुले पनि गर्नुपर्ने बताउनु भयो । उहाँले ज्यापु देय् छेँ काठमाडौं महानगरको सहयोगमा निर्माण गर्नका लागि सम्झौता भइसकेको र केही समयमा नै निर्माण कार्य थालिने बताउँदै सो भवनलाई संस्कृति तथा संस्कार सिक्ने ठाउँको रुपमा विकास गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा स्वागत गर्दै महागुथिका सदस्य सरिता महर्जनले ज्यापु जातिलाई राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय रुपमा संगठित गर्दै जाने लक्ष्य रहेको बताउनु भयो ।
महागुथिका महासचिव मचाराजा महर्जनले कार्यक्रमको संचालन गर्दै ओजेश सिंह जस्तो व्यक्तित्वलाई सम्मान गर्न पाउनु महागुथिको लागि पनि खुसिको कुरा भएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध