तेक्वाण्डाेका लागि खेल सामग्री हस्तान्तरण
राजेन्द्र मानन्धर
काठमाडौं
जैशिदेवल यूथ क्लबद्वारा सञ्चालित जैशिदेवल तेक्वाण्डो डोजाङ्गलाई आज खेल सामग्रीहरु प्रदान गरिएको छ ।
काठमाडौं महानगरपालिकाको सहयोगमा खरीद गरिएका खेल सामग्रीहरु मेयर विद्यासुन्दर शाक्यले हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा मन्तव्य राख्नुहुँदै मेयर शाक्यले भौतिक विकासका साथै खेलकुद र सांस्कृतिक सम्पदाहरुको पनि विकास गरिनु पर्छ भन्ने सोच अनुरुप नै महानगरले नीति तथा कार्यक्रम अगाडि सारिएको बताउनु हुँदै खेलले देशलाई विश्वमै चिनाउने भएकोले राम्रा खेलाडी उत्पादन गरिनु पर्नेमा जोड दिनु भयो । उहाँले खेलले शारीरिकरुपमा स्वस्थ्य राख्ने मात्र नभइ अनुशासित पनि बनाउने हुनाले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ ।
क्लबका अध्यक्ष एवम् डोजाङ्ग प्रमुख राजेश प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा २१ वडाका अध्यक्ष उदय चुडामणि बज्राचार्यको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडाध्यक्ष बज्राचार्यले वडाका तर्फबाट खेलकूद विकासका लागि आफूले सक्दो सहयोग गर्ने वचन दिनु भयो ।

कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रशिक्षक एवम् अध्यक्ष प्रजापतिले कुशल, प्रतिभावान, दक्ष खेलाडी उत्पादन गर्न भरसम्भव आफूले प्रशिक्षणमा ठूलो जिम्मेवारी लिई राष्ट्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी विकास गर्ने विश्वास दिलाउनु भयो ।








